Sagun Khabar
बिडिसिए कप क्रिकेट : दशरथचन्द एकेडेमी फाइनलमा प्रवेश

बैतडी –बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा  दशरथचन्द एकेडेमी फाइनलमा प्रवेश गरेको छ । 

आइतबार सम्पन्न सेमिफाइनल खेलमा एनआरवाइसी बठ्ठालाई १६ रनले पराजित गर्दै एकेडेमी फाइनलमा पुगेको हो । 

Atrya hospital

जितका लागि पाएको १४७ रनको लक्ष्य पछ्याएको एनआरवाइसी ३४.३ ओभरमा १३० रनमा अलआउट भयो । उसका डम्बर तिरूवाले ३५ र भुपेन्द्र चन्दले २० रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । 

एकेडेमीका लागि वसन्त खत्रीले एक्लैले ६ र अनुराग चन्दले २ विकेट हात पारे । 

त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एकेडेमी ४२ ओभरमा १४६ रनमा समेटियो । जसमा सुदीप टमटाले अर्धशतकीय पारी खेल्दै ५३ रन हिर्काए ।  एनआरवाइसीका लागि भुपेन्द्र चन्दले ७ र प्रदीप चन्दले २ विकेट लिए । भुपेन्द्र खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्र चन्दले जानकारी दिए  । 

प्रतियोगिता अन्तरगत सोमबार दोस्रो सेमिफाइनलमा निङलाशैनी क्रिकेट क्लब र त्रिपुरा क्रिकेट क्लब भिड्नेछन् । 

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

प्रधानमन्त्री कप एकदिवसीय  छनौटका रूपमा समेत लिइएको प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update