बैतडी –बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा समूह डीको दोस्रो खेलमा यौंगस्टार मेलौली विजयी भएको छ ।
मेलौलीले पाटन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको हो ।
पाटनले दिएको १४० रनको लक्ष्य मेलौलीले ३१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । जसमा रामचन्द्र पोखरेलले २५ रनको योगदान गरे । पाटनका हेमन्त चन्द र विकास विष्टले ३÷३ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटन ३०.४ ओभरमा १३९ रनमा अलआउट भयो । उसका किशोर बयानी र हरिस केसीले समान २७ रन बनाए ।
मेलौलीका जयराम भट्टले ४ विकेट लिए । उनी खेलका म्यान अफ द म्याच पनि भए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ ।