बैतडी –प्रधानमन्त्री कप महिला टी –२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडी फाइनलमा पुगेको छ । कैलाली,बैतडी र कञ्चनपुरले समान ३÷३ खेल जितेका थिए ।
तीनवटै टोलीले तीन खेल जितेका भएपनि कैलाली नेटरनरेटको आधारमा अंकतालिकाको शीर्ष र बैतडी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका स्कोरर नरेन्द्रराज भट्टले बताए । कञ्चनपुर भने फाइनल होडबाट बाहिरिएको छ ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार कैलालीको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदानमा हुनेछ ।
प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।
काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।