Sagun Khabar
बिडिसिए कप क्रिकेट : दशरथचन्द एकेडेमी सेमीफाइनलमा प्रवेश 

बैतडी –बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न समूह सी को अन्तिम खेलमा महारूद्र युवा क्लबमाथि ३०४ रनको विशाल जित दर्ता गर्दै एकेडेमी सेमिफाइनलमा पुगेको हो । 

एकेडेमीले दिएको ३२३ रनको लक्ष्य पछ्याएको महारूद्र ११.४ ओभरमा १८ रनमा अलआउट भयो । महारूद्रले बिडिसिए कपको इतिहासमै न्यून स्कोरमा अलआउट हुँदै खराब कीर्तिमान बनायो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एकेडेमीका वसन्त खत्रीले ६ र विरेन्द्र चन्दले ३ विकेट हात पारे । 

Atrya hospital

त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको एकेडेमी ४६.४ ओभरमा ३२२ रनमा समेटियो । जसमा बसन्त खत्रीले ७८, कप्तान पुरन रावलले ५४, आयुश चन्दले ४८ रनको योगदान गरे । महारूद्रका जितेन्द्र रावल,रामसिंह भाट,मनोज ऐरी र राजेश भाटले २÷२ विकेट झारे ।

एकेडेमीका बसन्त खत्री खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्र चन्दले जानकारी दिए । एकेडेमीले अब सेमिफाइनलमा पुस १ गते एनआरवाइसी बठ्ठासंग खेल्नेछ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ । प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए । 

यो बर्ष बिडिसिए कप वान डे फर्म्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । विगत बर्षहरुमा टी–२० फरम्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update