बैतडी – बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तरगत समूह सि को दोस्रो खेलमा आज महारूद्र युवा क्लब विजयी भएको छ । महारूद्रले पहिलो जित दर्ता गर्ने क्रममा ग्वाल्लेक क्रिकेट क्लबलाई ४ विकेटले हरायो ।
यो हारसंगै ग्वाल्लेक प्रतियोगिताबाट बाहिरिएको छ । महारूद्रको भने सेमिफाइनलको सम्भावना कायमै छ ।
ग्वाल्लेकले दिएको ११२ रनको झिनो लक्ष्य महारूद्रले १६.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा शौरभ चन्दले अविजित ३६ र सुरज सिंह भाटले ३६ रनको योगदान गरे । ग्वाल्लेकका हेमराज जोशीले ३ र तर्कराज जोशीले २ विकेट लिए ।
त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेक २६.४ ओभरमा १११ रनमा समेटियो । उसका यज्ञराज जोशीले २३ र पञ्कज जोशीले २२ रन बनाए । महारूद्रका मनोज ऐरी एक्लैले ६ विकेट हात पारे । मनोज खेलका म्यान अफ द म्याच पनि चुनिएका स्कोरर गजेन्द्र चन्दले जानकारी दिए ।
यसअघि समूह ए बाट एनआरवाइसी बठ्ठा र समूह बी बाट निङलाशैनी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेको छ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ ।
प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।
यस प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको छ । यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
विगत बर्षहरुमा टी–२० फर्म्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए ।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।