Sagun Khabar
बैतडीमा लेन्थवर्करहरुको अनसन जारी, सहयोग समितिसंगको छलफल निष्कर्ष विहिन 

बैतडी –बैतडीको पाटन –पञ्चेश्वर सडकका लेन्थवर्करहरु पारिश्रमिक माग गर्दै अनसन बसेको १४ दिन पूरा भएपनि उनीहरुको माग पूरा हुन सकेको छैन् । २१ महिनादेखिको आफूहरुले पारिश्रमिक नपाएको भन्दै लेन्थवर्करहरु आन्दोलित भएका हुन् । असार १८ गतेदेखि अनसनमा बसेका लेन्थवर्करहरुले आफ्ना माग पूरा नभए सम्म अनसन नछोड्ने बताएका छन् । 

आफूहरु बेलाबेलामा ठगिएकाले अब माग पूरा नभएसम्म अनसन नछोड्ने लेन्थवर्कर जयराम भुलले बताए । उनले भने ‘हाम्रा माग पूरा नहुँदा सम्म हामी अनसन छोड्दैनौं । बरु सडकमै मर्न तयार छौं ।’

Atrya hospital

लेन्थवर्करका समस्या समाधानका लागि सहयोग गर्न बनेको सहयोग समितिले आज उनीहरुसंग छलफल गरेपनि छलफल बिना निष्कर्ष सकिएको छ । सहयोग समितिले अनसन तोड्न आग्रह गरेको भएपनि लेन्थवर्करहरुले अनसन तोड्न नमाने सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । उनले भने ‘हामीले लेन्थवर्करहरुसंग उनीहरुको स्वास्थ्यलाई समेत ख्याल राखेर अनसन तोड्न आग्रह गर्यौं । तर उनीहरुले अनसन तोड्न मान्नु भएन् ।’

प्रदेशमा कार्यविधि नबनेकाले उनीहरुको पारिश्रमिक उपलब्ध गराउन समस्या भएको उनको  भनाई छ ।लेन्थवर्करका माग जायज रहेका र आन्दोलनको स्वरुप बदल्न आग्रह गरेको भएपनि उनीहरुले नमाने भट्टले बताए । 

पाटन–पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुलाई समस्या भएको लेन्थवर्कर लालसिंह ठगुन्नाले बताए । आफूहरुका माग पूरा नहुँदा सम्म अनसन नछोड्ने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update