Sagun Khabar
कर्कले बेलीब्रीज मर्मतका बिषयमा छलफल, वैकल्पिक सडक स्तरोन्नती गर्ने निर्णय 

बैतडी –बैतडी–दार्चुला जोड्ने कर्कले बेलीब्रीज मर्मतका बिषयमा सरोकारवाला निकायहरुले छलफल गरेका छन् । चमेलिया जलविद्युत केन्द्रको कार्यालयमा सोमबार बसेको बैठकले दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका –३ रुद्रेश्वर जोड्ने बेलीब्रीज भासिएकाले मर्मतका लागि सम्बन्धित निकायहरुमा लेखेर पठाउने निर्णय भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतमा बसेको बैठकमा दार्चुलाको शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

यस्तै चमेलिया जलविद्युत केन्द्र, मकरीगाड जलविद्युत आयोजना, माथिल्लो चमेलिया जलविद्युत आयोजना र नौगाड जलविद्युत आयोजनाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

Atrya hospital

कर्कले पुल भएर दार्चुला तथा बैतडीका विभिन्न ठाउँमा पुगिने भएकाले सो पुल मर्मतका लागि गृह मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र दुवै जिल्लाका सांसदहरुलाई लेखेर पठाउने निर्णय भएको प्रवक्ता भट्टले बताए । 

कर्कले बेलब्रीजको दार्चुलातर्फको पिल्लर भासिएकाले ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुल मर्मत नहुँदा सम्म ठूला सवारी साधन सञ्चालन गरेमा दुर्घटनाको जोखिम हुने भएकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । 

पुल भासिएपछि दार्चुलाको नौगाड, मार्मा र अपिहिमालको यातायातमा समस्या हुनुका साथै बैतडीको डिलाशैनीको केही भागमा यातायात सञ्चालनमा समस्या भएको छ । 

सर्वपक्षीय बैठकले पुल मर्मतको कामका साथसाथै वैकल्पिक सडक स्तरोन्नतीको कामलाई समेत अघि बढाउने निर्णय भएको छ । बैतडीको देवझाडी–सेरा–नागिनी–कर्कले सडकलाई स्तरोन्नतीका लागि पहल गर्ने निर्णय भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । 

यो सडक स्तरोन्नती गरेमा दार्चुलाका अपिहिमाल, मार्मा र नौगाडका बासिन्दा समेत लाभान्वित हुने भएकाले कर्कले पुलको वैकल्पिक मार्गको रुपमा उक्त सडकलाई स्तरोन्नती गर्ने निर्णय भएको हो । सडक मर्मतका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता भट्टले बताए । 

मंसिर पहिलो साता कर्कले पुलको पिलर भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । उक्त पुल भएर साना सवारी साधन सञ्चालनमा रहेका भएपनि दुर्घटनाको जोखिम भने कायमै रहेको छ । 

पुल मर्मतको कामका साथै वैकल्पिक सडक मर्मतको कामलाई समेत अगाडि बढाउने निर्णय भएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update