
बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिमा४ मा रहेको प्रसिद्ध शक्तिपीठ कैलपाल मन्दिरमा लाग्ने धुरा जात सुरु भएको छ । षष्ठी र सप्तमिका दिन लाग्ने मेला आजबाट सुरु भएको हो।
आज पहिलो दिन रतेडी र भोली दिउसेडी मेला लाग्ने वडा अध्यक्ष जनक बहादुर चन्दले बताए । कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।
जिल्लाका अन्य शक्तिपीठ तथा मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमा जात्रा लाग्ने गरेको भएपनि पञ्चेश्वरस्थित कैलपाल धुरा मन्दिरमा मंसिर कृष्ण पक्षमा जात्रा लाग्ने गरेको छ । यस्तै जात्राको अवसरमा गाउँपालिका क्षेत्रभित्र आज र भोलि सार्वजनिक बिदा दिइएको छ ।
पञ्चेश्वर गाउँपालिका वडा नं ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा आजदेखि लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ । कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।