बैतडी –बैतडीमा आजदेखि बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरे । दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा अध्यक्ष चन्दले बलिङ र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि पहिले खेलमा अहिले एनआरवाइसी र पञ्चकोटी भिडिरहेका छन् । पञ्चकोटीले टस जितेर ब्याटिङ गरिरहेको स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने बिडिसिए कपको यो २० औं संस्करण हो ।
प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीले बताए ।
प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।