Sagun Khabar
बैतडीका थप तीन पालिकामा रुपान्तरण कार्यक्रम लागू 
रुपान्तरण तालिममा सहभागी किशोरकिशोरी

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा बालविवाह अन्त्यका लागि रुपान्तरण सञ्चालन भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले कार्यक्रम सञ्चालन गरेको हो । 

बालविवाह अन्त्यका लागि किशोरकिशोरीहरुलाई परिचालन गर्ने उद्देश्य सहित कार्यक्रम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक कमलापति भट्टले जानकारी दिए । उनले भने ‘हामीले रुपान्तरण कार्यक्रम थप तीन पालिकामा विस्तार गरेका छौं । बालविवाह जस्ता हानिकारक प्रचलन हटाउनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं ।’

Atrya hospital

बालविवाह अन्त्यका लागि तिनओटै पालिकाका किशोरकिशोरीहरुलाई ८ दिने तालिम समेत दिइएको भट्टले बताए । बालविवाह अन्त्यका लागि किशोरकिशोरीहरुका महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई परिचालन गर्ने गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । उनले भने ‘बालविवाहका कारण समग्र मानिसको जीवन नै समस्यामा पर्ने भएकाले बालविवाह अन्त्यका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।’

यो भन्दा पहिला रुपान्तरण कार्यक्रम सञ्चालन गरेका पालिकाहरुमा बालविवाह न्यूनीकरण भएकाले अन्य स्थानीय तहमा समेत यो कार्यक्रम विस्तार गरिएको शाहीले बताए । स्थानीय तहहरुसंगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

रुपान्तरण कार्यक्रम अन्तर्गत किशोरकिशोरीहरुले आफ्ना स्थानीय तहमा बालविवाह अन्त्यका लागि पैरवी गर्नेछन् । साप्ताहिक रुपमा कक्षा सञ्चालन गरेर किशोरकिशोरीहरुले बालविवाह अन्त्यका लागि पहल गर्ने शाहीले बताए । 

रुपान्तरण कार्यक्रमले समाजमा हुने गरेको बालविवाह अन्त्यका लागि ठूलो भूमिका खेलेको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । उनले भने ‘परिवर्तन भन्ने कुरा एकैचोटी हुँदैन् । बालविवाह न्यूनीकरणका लागि समाजमा जुन प्रयास भईरहेको छ । त्यो निकै सराहनीय छ ।’
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update