
बैतडी –भूकम्प प्रभावित बैतडीको सिगास गाउँपालिका ३ कुराडीका रघुबीर साउँदको परिवारलाई राहत रकम प्रदान गरिएको छ । स्थानीयस्तरबाट सामाजिक अभियान्ता सूर्यबहादुर बोहराको पहलमा संकलन भएको राहत रकम हस्तान्तरण गरिएको हो ।
साउँदकी आमालाई विभिन्न ठाउँबाट संकलन भएको २५ हजार रुपैयाँ राहत रकम मंगलबार हस्तान्तरण गरिएको बोहराले बताए ।
गएको असोज १६ गते बझाङ केन्द्र बिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पले साउँदको घरमा क्षति पुर्याएको थियो । साउँद आफू पनि बिरामी रहेको समयमा भूकम्पले घरमा क्षति पुर्याएको थियो ।
भूकम्पबाट साउँदको घरको भित्ता चर्किएपछि बस्नै नमिल्ने भएको थियो । अहिले गाउँलेहरुले मिलेर साउँदको घरलाई मर्मत गरेका छन् । घर मर्मतमा सहयोग होस भनेर आफूले अभियान सञ्चालन गरेको र अभियानमा विभिन्न ठाउँबाट सहयोग रकम संकलन भएको बोहराले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सिगास गाउँपालिका सभापति समेत रहेका सूर्यबहादुर बोहराले यसअघि पनि समस्यामा परेका नागरिकहरुका लागि सहयोग अभियान सञ्चालन गर्दै आएका थिए ।