Sagun Khabar
बैतडी सदरमुकाममा फेरि बल्झियो खानेपानी समस्या 

बैतडी –बैतडी सदरमुकाममा फेरि खानेपानी समस्या बल्झिएको छ । एकपटक पानी भर्नका लागि चार दिन कुनुपर्ने अवस्थाको सिर्जना भएको स्थानीयहरुले बताएका छन् । 

साना सहरी खानेपानीको पाइपमा चुना जमेर आपूर्ति कम भएको बैतडी नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।

पाइपमा चुना जमेकै कारण सदरमुकाममा खानेपानी वितरणमा समस्या भइरहेको छ । 

Atrya hospital

आठ वर्षअघि १४ करोड रुपैयाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएका छन् । ६ इञ्चको पाइपमा चुना जमेर अहिले ४ इञ्चमात्रै पानी आउने गरेको उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द पाण्डेयले बताए । 

आवश्यकता अनुसार पानीको आपूर्ती नहुँदा सदरमुकाम क्षेत्रमा पालो मिलाएर पानी वितरण गर्नुपरीरहेको उनले बताए । यो योजना अन्तर्गत एक हजार ६० धारा छन् । दैनिक ५ लाख ५० हजार लिटर पानीको आवश्यकता भएपनि तीन लाख लिटर मात्रै आपूर्ती भइरहेको छ । पाइपमा चुना जमेका कारण पानीको आपूर्तीमा समस्या भएको अध्यक्ष पाण्डेयले बताए । 

मूहानबाटै पानीको आपूर्ती घटेपछि उपभोक्ताहरुलाई पालो लगाएर चार दिनमा एक छाक मात्रै पानी दिने गरिएको छ । अन्य क्षेत्रको तुलनामा गढी र शाहीलेकमा खानेपानीको चरम समस्या भएको स्थानीयहरुले बताएका छन् । पानी आपूर्तीमा समस्या भएपछि होटेल व्यवसायीहरु र डेरा गरी बस्नेहरुलाई झन् समस्या भएको स्थानीय चक्रदेव पाण्डेयले बताए । 

सदरमुकाम क्षेत्रबाट सात किलोमिटर टाढा रहेको ग्वाल्लेकस्थित मूहानबाट पानी आउने गरेको छ । पानी ल्याउने पाइपमा चुना भरिएपछि प्रत्येक बर्ष समस्या हुँदै गएको छ । सदरमुकाम क्षेत्रको खानेपानीको समस्याका बिषयमा उपभोक्ता समितिसंग छलफल गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाले बताए । यो योजना संघीय सरकार मातहत रहेकाले सञ्चालन गर्ने दायित्व उपभोक्ता समिति रहेको उनले बताए । 

खानेपानीको पाइपमा चुना जम्नु, मूहानमै पानी कम हुनु र पाइप लाइनमा विभिन्न कारणले क्षति पुग्दा खानेपानी आपूर्तीमा समस्या भएको देवकोटाले बताए । 

खानेपानी योजनाको मर्मतसम्भारका लागि धेरै पटक प्रयास गरिएको भएपनि सफल हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष पाण्डेयले बताए । 

सदरमुकाम क्षेत्रमै खानेपानीको व्यवस्थापनका लागि सुतेगाड खोलाबाट पानी ल्याउने पहल भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवकोटाले बताए । चालु आर्थिक बर्षभित्रै सुतेगाड खोलाको पानी ट्यांकीमा झार्ने लक्ष्य रहेको उनले बताए ।यो पानी ल्याउन सके केही हदसम्म समस्या समाधान हुने उनको भनाइ छ ।

सदरमुकाममा खानेपानीको समस्या भएकाले समस्या समाधानका लागि उपभोक्ता समिति र अन्य निकायहरुले ध्यान दिनुपर्ने स्थानीय विरेन्द्र पाण्डेयले बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update