Sagun Khabar
सतबाँझ –श्रीभावर सडकमा थप १४ किलोमिटर कालोपत्रेको काम अघि बढ्दै 

बैतडी –प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर सडकखण्ड अन्तर्गत थप १४ किलोमिटर कालोपत्रेको काम अघि बढ्ने भएको छ । सतबाँझदेखि ६ किलोमिटर कालोपत्रेका लागि यसअघि ठेक्का भएर काम अन्तिम चरणमा रहेको छ भने त्यो भन्दा अघि सुर्नया गाउँपालिकाको कठ्यागौंडासम्म १४ किलोमिटर कालोपत्रेको काम अघि बढ्ने भएको हो । 

६ किलोमिटर सडक कालोपत्रेका लागि १० करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । 

पूर्वाधार विकास कार्यालयले १४ किलोमिटर सडक कालोपत्रे गर्नका लागि सिद्धबाबा निर्माण सेवासंग सम्झौता भइसकेको जनाएको छ । ३६ महिनाभित्र काम गरिसक्ने गरेर निर्माण कम्पनीसंग सम्झौता भएको पूर्वाधार विकास कार्यालय बैतडीका सूचना अधिकारी हर्कराज जोशीले बताए । 

Atrya hospital

यसअघि कालोपत्रेका लागि ठेक्का भएको ६ किलोमिटरको काम पनि अन्तिम चरणमा रहेको उनले बताए । 

यस्तै कठ्यागौंडादेखि ढोल्यामोड सम्म्मको २० किलोमिटर स्तरोन्नतीका लागि पनि ठेक्का सम्झौता भइसकेर काम शुरु हुने तयारीमा रहेको जोशीले बताए । सो कार्यका लागि १२ करोडमा ठेक्का सम्झौता भएको छ । जागृति मुनाल टक्सार जेभीले ३६ महिनाभित्र सो कार्य गरिसक्ने गरेर ठेक्का सम्झौता गरेको जोशीले बताए । 

सतबाँझ–श्रीभावर–हाट सडक प्रदेश गौरवको योजना भएकाले यसलाई प्राथमिकतामा राखेर काम भइरहेको जोशीले बताए । 

तर सडकखण्डको श्रीभावर–हाट खण्डमा भने कालोपत्रे गर्ने कार्यमा ढिलाई भएको स्थानीयहरुले बताएका छन् । श्रीभावरदेखि अगाडि ८ किलोमिटर कालोपत्रेका लागि तीन बर्ष अघि सम्झौता भएर काम भइरहेको छ । समयमा काम नसकिएपछि एक बर्षका लागि म्याद थपेर काम भइरहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताए । 

१७ करोडमा चन्द्र एण्ड वसन्ता जेभी ग्वाल्लेकले गरिरहेको काम ७० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ भने बाँकी काम चालु आर्थिक बर्षभित्रै सम्पन्न दाबी गरिएको छ । 

यस्तै थप ५ किलोमिटर कालोपत्रेको काम समेत भइरहेको इन्जिनियर भुलले बताए । जगदम्बा बिल्डर्सले १८ करोडमा काम गरिरहेको र उक्त काम पनि अन्तिम चरणमा रहेको बताइएको छ । 

सतबाँझ श्रीभावर सडक निर्माण सम्पन्न भएमा जिल्ला सदरमुकाम जोड्ने छोटो मार्ग हुने स्थानीय कमलबहादुर साउँदले बताए । जिल्लाको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई यातायातमा सहज हुने उनले बताए । उनले भने ‘सतबाँझ श्रीभावर सडक निर्माण भएमा तीन पालिकालाई सहज हुनेछ । यो सडक कालोपत्रेको काम समयमै सम्पन्न गर्नु आवश्यक छ ।’
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update