काठमाण्डौ – चार देशीय महिला टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । नेपाललाई तान्जानियाले २७ रनले हराउँदै विजयी शुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको थियो । तर नेपाल १६ ओभर ५ बलमा ८८ रनमा अलआउट भयो ।
नेपालका सीता रानामगरले सर्वाधिक ४३ रन जोडिन । त्यस्तै कप्तान इन्दू बर्माले १५ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । तान्जानियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।
बलिङतर्फ नेपालका संगिता राईले दुई तथा पुजा महतो, रुविना क्षेत्री र इन्दु बर्माले समान एक÷एक विकेट लिए । नेपालले पहिलो पटक तान्जानियासँग खेलेको हो । महिला टी–२० को विश्व वरियतामा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा छन् । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।