Sagun Khabar
बैतडीमा एबीसी क्रिकेट प्रतियोगिता : क्वाटर फाइनलमा पुग्ने ८ टोलीको टुंगो लाग्यो 

बैतडी –बैतडीको देहीमाण्डौंमा जारी एबीसी टि–१० क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन् । आज तीन खेल सम्पन्न भएसंगै क्वाटरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ । 

आज भएको पहिलो खेलमा गढी युवा क्लबले शिवशक्तिलाई ८ विकेटले पराजित गरेको छ । गढी युवा क्लबले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि शिवशक्तिले पहिला ब्याटिङ गर्दै १० ओभरमा ९ विकेट गुमाएर ११७ रन बनायो । 

११८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको गढी युवा क्लबले ६ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उक्त खेलमा गढी युवा क्लबका उज्जवल कनौजिया म्यान अफ दि म्याच घोषित भए । 

Atrya hospital

यस्तै आज भएको दोश्रो खेलमा नागार्जुन नानीगाडले राजधानी एक्सप्रेसलाई २० रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नानीगाड नागार्जुनले १० ओभरमा ४ विकेट गुमाएर १३२ रन बनायो । 

१३३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको राजधानी एक्सप्रेसले १० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा नागार्जुन नानीगाडका प्रेम चन्द म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको अन्तिम खेलमा डिजे वारियरले गढी युवा क्लबलाई ११९ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको डिजे वारियरले १० ओभरमा ३ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि जितु कार्की र पंकज पन्तले अर्धशतक बनाए । 

१७१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको गढी युवा क्लबले १० ओभरमा ९ विकेटको क्षतिमा ५१ रनमात्रै बनाउन सक्यो । उक्त खेलमा डिजे वारियरका पंकज पन्त म्यान अफ दि म्याच घोषित भए । 

यो संगै एबीसी क्रिकेट प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गर्ने ८ टोलीको टुंगो लागेको प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । पोलबाट ए बाट पञ्चेश्वर लालीगुराँश, पोल बीबाट त्रिपुरा (बी), पोल सीबाट डिजे वारियर, पोल डीबाट रणशैनी क्रिकेट क्लब,पोल इबाट एनवाइसी, पोल एफबाट ग्वाल्लेक युथ क्लब, पोल जीबाट निङ्गलाशैनी वारियर र पोल एचबाट विनासौं क्वाटर फाइनलमा प्रवेश गरेका छन् । 

क्वाटर फाइनलका खेल अब कार्तिक ३० गते सञ्चालन हुने आयोजकले जनाएको छ । क्वाटर फाइनल अन्तर्गत पञ्चेश्वर लालीगुराँश र त्रिपुरा (बी) भिड्नेछन् भने डिजे वारियरसंग रणशैनी क्रिकेट क्लब भिड्नेछ । 

यस्तै एनवाइसी र ग्वाल्लेक युथ क्लब आम्नेसाम्ने हुँदा निङ्गलाशैनी वारियर र विनासौ भिड्ने आयोजकले जनाएको छ । 

देहीमाण्डौं बजारस्थित  आशिर्वाद बेकरी एण्ड क्याफेको आयोजनामा यही कार्तिक २२ गतेदेखि शुरु भएको प्रतियोगितामा २५ टीमको सहभागिता रहेको छ । गत बर्षदेखि क्याफेले तिहारको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गर्दै आएको छ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४१ हजार १५१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १८ हजार १५१ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । 

यस्तै म्यान अफ दि सिरिजलाई ४ हजार एक सय नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई २ हजार १ सयका दरले नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update