Sagun Khabar
मानसिक समस्याले आत्महत्याका घटना बढ्दै 

बैतडी–पछिल्लो समयमा आत्महत्याका घटना बढ्दै जानु मानसिक स्वास्थ्यको समस्या प्रमुख कारक रुपमा अगाडि आएको छ । बैतडीमा चालु आर्थिक बर्षको अहिले सम्म १७ जनाले आत्महत्या गरिसकेका छन् । जसमध्ये १० पुरुष, ५ महिला र दुई बालिका रहेका छन् । 

आत्महत्या गर्ने अधिकांशमा मानसिक समस्या रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनले भने ‘आत्महत्याका घटनाहरुमा हामीले बुझ्दै जाँदा उनीहरुमा कुनै न कुनै मानसिक समस्या रहेको पाएका छौं । तनाव लगायतका कारणले आत्महत्याका घटनाहरु बढीरहेका छन् ।’

Atrya hospital

आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरु समेत रहेकाले उनीहरुमा विभिन्न खालका मानसिक समस्या रहेको पाइएको प्रहरी निरीक्षक खत्रीले बताए । आफ्ना बालबालिकाहरुको बानी व्यवहारका बिषयमा अभिभावकहरुले समेत ख्याल राख्नुपर्नेमा खत्रीले जोड दिए । 

आत्महत्याका घटना मानसिक समस्यासंगै सम्बन्धित रहेकाले यो बिषयमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले जोड दिए । उनले भने ‘मानिस आँफैले आफ्नो जिन्दगी समाप्त पार्ने अवस्थामा कसरी पुगिरहेको छ ?यो बिषयमा सबैले गम्भीर बन्नु आवश्यक छ ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए ।

बैतडीमा आर्थिक बर्ष २०७८÷७९ मा ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आर्थिक बर्ष २०७८÷७९ मा २० पुरुष, ८ महिला, ४ बालक र ४ बालिकाले आत्महत्या गरेका थिए । 

यस्तै आर्थिक बर्ष २०७७÷७८ मा २० पुरुष, १७ महिला, २ बालक र ४ बालिका गरी ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update