Sagun Khabar
बैतडीमा  विद्युत महसुल नबुझाउने एक सय बढी ग्राहकको लाइन काटियो 

बैतडी–समयमा विद्युत महसुल नबुझाउने बैतडीका एक सय बढी ग्राहकको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको यही कार्तिक १३ गतेदेखि लाइन काट्न शुरु गरेको हो । 

समयमा महसुल नबुझाउने विभिन्न सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । अहिले सम्म १ सय २ ग्राहकको लाइन काटिएको उनले बताए । 

Atrya hospital

विद्युत महसुल नबुझाएको ४ महिनाभन्दा माथि भइसकेका ग्राहकहरुको लाइन काटिएको हो । ११ ओटा सरकारी कार्यालय र ९१ ओटा व्यक्तिगत ग्राहकहरुको लाइन काटिएको छ । उनीहरुबाट १६ लाख २८ हजार विद्युत महसुल असुल गर्नुपर्ने बाँकी रहेको कार्यालय प्रमुख पौडेलले बताए । 

विद्युत लाइन काटिएपछि केहीले महसुल बुझाएको र उनीहरुको लाइन फेरी सुचारु गरिएको छ । विद्युत लाइन काटेपछि ५ ओटा सरकारी कार्यालय र २७ ओटा अन्य ग्राहकहरुले महसुल तिरेपछि लाइन जडान गरिएको बताइएको छ । 

समयमा विद्युत महसुल नतिर्ने सरकारी कार्यालयमा स्थानीय तहदेखि वडा कार्यालयसम्मका रहेका छन् । 

बैतडीमा १ करोड १९ लाख विद्युत महसुल उठाउन बाँकी रहेको छ । दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने नेपाल विद्युत प्राधिकरणको नीति रहेको भएपनि बैतडीमा एक बर्षसम्म समेत महसुल नतिर्ने ग्राहक रहेका बताइएको छ । 

लामो समयसम्म विद्युत महसुल नतिरेका ग्राहकहरुको तिहारपछि पनि लाइन काट्ने काम शुरु हुने विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update