Sagun Khabar
बैतडी विमानस्थल पाटनमा करोडौंका  संरचना निर्माण : न हवाई उडान, न सुरक्षा 

बैतडी –बैतडी विमानस्थल पाटनमा करोडौंका संरचना निर्माण भएपनि हवाई उडान हुन सकेको छैन् । २०३६ सालमा निर्माण भएको विमानस्थलमा २०५१ सालदेखि हवाई सेवा बन्द भएको थियो । 

तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टर्मिनल भवन र अन्य संरचनाहरुमा क्षति पुर्याएपछि कैयौं बर्ष विमानस्थल पुननिर्माणकै पर्खाइमै रह्यो । 

२०७७ सालमा विमानस्थलको धावनमार्ग कालेपत्रे गर्ने कार्य भएपनि विमानस्थलमा हवाई उडान हुन सकेको छैन् । ११ करोड २९ लाखको लगानीमा विमानस्थलको धावनमार्ग निर्माण गरिएको थियो भने ५ करोड ६२ लाखको लागतमा टर्मिनल भवन समेत निर्माण गरिएको छ । 

Atrya hospital

बैतडी विमानस्थल पाटनमा केही समय समिट एयरले हवाई उडान भरेपनि २०७८ चैत १० देखि हवाई उडान हुन सकेको छैन् । 

राज्यको करोडौंको लगानिमा निर्माण भएको विमानस्थल सञ्चालन नआउँदा अहिले स्थानीयहरुको टिकटक बनाउने र फोटो खिच्ने स्थलको रुपमा विमानस्थल परिणत भएको छ । 

यात्रुको अभाव देखाउँदै समीट एयरले हवाई उडान बन्द गरेको थियो । बैतडीदेखि धनगढी १७ मिनेटमा हवाई उडान भर्न सकिने भएपनि भाडा महंगो भएको यात्रुहरुले गुनासो गरेका थिए । शुरुमा ३ हजार ७ सय भाडा तय गरिएकोमा पछि ५ हजार सम्म भाडा पुर्याइएको थियो । 

विमानस्थल सञ्चालनमा नआउँदा कर्मचारीहरु समेत परिचालन भएका छैनन् । विमानस्थलको सामान्य रेखदेखका लागि एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् । 

विमानस्थल सञ्चालन नभएकै कारण अन्य कर्मचारी पठाउन नसकिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले बताए । हवाई उडान नभएकै कारण कर्मचारी नपठाएको उनले बताए । उनले भने ‘कुनै पनि एयर कम्पनीहरुले हवाई उडानका लागि प्रस्ताव गरेका छैनन् । त्यसैले बैतडी विमानस्थल पाटनमा कर्मचारी पठाउन सकेका छैनौं ।’

विमानस्थलमा करोडौं लगानीका संरचनाहरु नष्ट हुने खतरा बढ्दै गएको छ । विमानस्थलमा अहिले टिकटक बनाउने र फोटो खिच्ने कामहरु भइरहेका बारेमा जानकारी आएको सिंहले बताए । 

विमानस्थलको सुरक्षाका लागि गृहमन्त्रालयको जिम्मेवारी भएकाले प्रहरी प्रशासनसंग आग्रह गरिएको उनले बताए । 
यता विमानस्थल सुरक्षा गार्डको दरबन्दी भएपनि खटाउन भने नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । विमानस्थल सञ्चालनमा नरहेको र प्रहरी बस्नका लागि ठाउँ नभएका कारण गार्ड खटाउन नसकिएको उनले बताए । 

विमानस्थलका भौतिक सामग्री सुरक्षाका लागि भने इलाका प्रहरी कार्यालय पाटनबाटै प्रहरीले हेर्ने गरेको उनको दाबी छ । 

राज्यको करोडौं लगानी भएको विमानस्थल सञ्चालनमा नआएपछि यहाँका नागरिक निराश भएका छन् । आकस्मिक बिरामी र अन्य आकस्मिक कामले धनगढी जानेहरु समेत सडक यातायातबाटै आउने जाने गरेका छन् । 

विमानस्थल सञ्चालनमा राज्यका निकायहरुको ध्यान नगएको स्थानीय प्रेमसिंह भाटले बताए । करोडौं खर्च गरेर पुनःनिर्माण गरिएको विमानस्थल सञ्चालन नआउनु भनेको बालुवामा पानी खन्याए सरह भएको उनले बताए । 

विमानस्थल सञ्चालनमा आए यहाँ धार्मिक पर्यटकीय स्थलहरुमा धार्मिक पर्यटकहरुको संख्या बढ्ने अपेक्षा गरिएको थियो । तर विमानस्थल नै सञ्चालन आउन सकेको छैन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update