बैतडी –बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३)मा सेमिफाइनल प्रवेश गर्ने चार टोलीको टुंगो लागेको छ । आज भएको क्वाटर फाइनलको अन्तिम खेलमा सहस्त्रलिङ्गसामु पंचकोटीले जित दर्ता गरी सेमिफाइनलमा प्रवेश गरेसँगै चार वटै टोलीको टुंगो लोगेको हो ।
पंचकोटीसँगै मेलौली नगरपालिका, टिम क्वालीटी कैलपाल र टिम क्वालीटी दोगडाकेदार शीर्ष चार अर्थात सेमिफाइनलमा प्रवेश गरेका हुन ।
आजै भएको पहिलो खेलमा पाटन भ्यालीलाई मेलौलीले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । दोश्रो खेलमा नागेश्वर युवा क्लबलाई पराजित गर्दै टिम क्वालीटी दोगडाकेदार सेमिफाइनलमा प्रवेश गरेको हो । टिम क्वालीटी कैलपाल मंगलबार नै थालिगडालाई पारजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
भोली बिहिबार फाइनल प्रवेशका लागि दुई खेल हुने छन् । भोली हुने पहिलो खेल टिम क्वालीटी दोगडाकेदार र टिम क्वालीटी कैलपालबीच हुने छ भने दोश्रो खेल पंचकोटी र मेलौलीबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।
कार्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएका थिए । जारी प्रतियोगिताको फाइनल खेल कार्तिक २४ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितिय हुने टिमले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले म्यान अफ द म्याच स्वरुप २२ हजार२२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी बेष्ट बलर तथा बेष्ट ब्याट्सम्यानले जनही ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।