बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले आयोजना गरेको नगरस्तरीय टि–२० पुरुष क्रिकेटको उपाधी दनपा ४ ले हात पारेको छ । बुड्डाबाजे खेलमैदान रातामाटामा भएको फाइनल खेलमा दनपा २ लाई २ रनले पराजित गर्दै दनपा ४ ले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता दनपा २ ले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दनपा ४ ले १६.१ ओभरमा अलआउट हुँदै ५६ रन बनायो । उसका लागि डम्मर तिरुवाले १४ र प्रदीप चन्दले १३ रनको योगदान गरे ।
बलिङतर्फ दनपा २ ऋषिकेश बोहराले ५ र सन्तोष विजलेले २ विकेट लिए ।
५७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा २ ले १३.५ ओभरमा अलआउट हुँदै ५४रन मात्रै बनाउन सक्यो । उसका लागि खडक बोहराले १५ र दिपक बोहराले १४ रन बनाए पनि हार टार्न सकेनन् ।
बलिङतर्फ दनपा ४ का गोविन्द नाथले दुई विकेट लिए । उनी फाइनल अफ द म्याच घोषित भए ।
दनपा ४ का प्रदीप चन्द फाइनल अफ दि सिरिज भए । उनले नगद २ हजार २ सय ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । बेस्ट बलरको उपाधी समेत हात पारेका चन्दले नगद १ हजार १२५सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
यस्तै दनपा ५ का सुमन रावल बेस्ट ब्याट्सम्यान भए । उनले नगद १ हजार १२५सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका र दशरथचन्द नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा ११ ओटै वडाका ११ टीमको सहभागिता रहेको थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहमा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै भलिबलका प्रशिक्षक हरिसिंह भण्डारी बिशिष्ट अतिथी रहेका थिए । यस्तै समारोहमा वडा अध्यक्ष लगायतका अन्य जनप्रतिनिधिहरु समेत रहेका थिए ।
विजेता तथा उपविजेताहरुलाई अध्यक्ष, प्रमुख अतिथी, अतिथी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
यस्तै प्रतियोगितामा समापन समारोहमा क्रिकेटका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । दनपा ५ का धिरेन्द्र चन्द, दनपा ९ का मनोजराज जोशी, दनपा ५ का जगदीश चन्द, दनपा २ का खडक बोहरा, दनपा ६ का कमलसिंह ऐरी, दनपा ६ का योगेन्द्र कार्की र दनपा २ का दिपक बोहरालाई सम्मान गरिएको हो ।