बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा २ र दनपा ४ भिड्ने भएका छन् ।
बुड्डाबाजे खेलमैदान रातामाटामा दुवै टोलीबीच आज फाइनल प्रतिस्पर्धा हुने नगर विकास खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
जारी प्रतियोगितामा दनपा १० लाई १९ रनले पराजित गर्दै दनपा २ फाइनलमा प्रवेश गरेको हो । यस्तै सेमीफाइनलमा दनपा ११ लाई २ विकेटले पराजित गर्दै दनपा ४ फाइनलमा प्रवेश गरेको हो ।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११टीमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।