दार्चुला –दार्चुलाको अपिहिमालका स्थानीयहरुलाई सहुलियत दरमा चामल उपलब्ध गराउन थालिएको छ ।
चाडपर्वलाई लक्षित गरेर गाउँपालिकावासीहरुलाई बिशेष छुटमा चामल उपलब्ध गराउने कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आग्रह गरेर खण्डेश्वरी डिपोबाट सहुलियत दरको चामल विक्रि भइरहेको अध्यक्ष बोहराले बताए । आगामी मंसिर ३ गते सम्म छुट मूल्यमा डिपोबाट चामल विक्रि हुने उनले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खण्डेश्वरी डिपोबाट अहिले प्रतिकेजी ५५ रुपैयाँ पर्ने चामलमा ७ रुपैयाँ छुट दिएर प्रतिकेजी ४८ रुपैयाँमा विक्रि भइरहेको छ । यस्तै प्रतिकेजी ९३ रुपैयाँ पर्ने मसिनो चामलमा ७ रुपैयाँ छुट गरेर प्रतिकेजी ८६ रुपैयाँमा विक्रि भइरहेको छ ।
यस्तै मोटो चामलको २५ केजीको बोरा १२ सय तथा मसिनो चामलको २५ केजीको बोरा २ हजार १५० मा विक्री भइरहेको गाउँपालिकाले जनाएको छ ।
चाडपर्वका बेला सबैका लागि खाद्यान्नमा छुट गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका निमित्त शाखा प्रमुख जयकिशुन प्रसाद चौधरीले जानकारी दिए । उपभोक्ताको माग र समस्यालाई मध्यनजर गर्दै कार्यालयले सबै चामलको मुल्यमा प्रतिकिलोग्राम ७ रुपैयाँ छुट दिएर विक्री वितरण गर्दै आइरहेको उनले बताए ।