Sagun Khabar
सिद्धेश्वर माविले उत्पादन गरेको मैनबत्ती स्थानीय बजारमा 

बैतडी–बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले उत्पादन गरेको मैनबत्ती स्थानीय बजारमा पुगेको छ । तिहारलाई लक्षित गर्दै विद्यालयले विद्यार्थीहरुको सहभागितामा मैनबत्ती उत्पादन गरेको हो । 

विद्यालयले करीब २ हजार प्याकेट मैनबत्ती उत्पादन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । विद्यार्थीहरुलाई व्यवहारिक सीप र ज्ञानसंग जोड्ने उद्देश्यले विद्यालयले २०७४ सालदेखि तिहारलाई लक्षित गरेर मैनबत्ती उत्पादन गर्दै आएको उनले बताए । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा मैनबत्ती उत्पादन गरिएको हो । उनले भने‘बालबालिकाहरुलाई प्रयोगात्मक सीप दिनका लागि हामीले मैनबत्ती उत्पादन गर्दै आएका छौं । यसले बालबालिकाहरुमा व्यवहारिक सीपको विकास भएको छ ।’

Atrya hospital

बालबालिकाहरुलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक सीप प्रदान गर्नका लागि विद्यालयले प्रयास गरिरहेको अध्यक्ष भाटले बताए । मैनबत्ती उत्पादनका लागि आवश्यक कच्चा पदार्थ बाहिरबाट मगाएर विद्यालयमै मैनबत्ती उत्पादन गरिएको हो । तिहारलाई लक्षित गरेर मैनबत्ती बजारमा पुगिसकेको समेत उनले बताए । 

विद्यालयमै मैनबत्ती उत्पादन गर्ने कार्यमा संलग्न हुन पाएपछि विद्यार्थीहरु समेत खुसी भएका छन् । मैनबत्ती बनाउने सीप सिकिएकाले आफूलाई निकै खुसी लागेको कक्षा १० मा अध्ययनरत छात्र केशव भाटले बताए । विद्यालयबाट मैनबत्ती बनाउने सीप सिकेपछि निकै खुसी लागेको उनको भनाइ छ । 

विद्यालयमा जीवनसंग सम्बन्धित सीप सिक्न पाउँदा निकै खुसी लागेको कक्षा ९ मा अध्ययनरत छात्र ईश्वर धनाडीले बताए । उनले भने ‘हामी सबै विद्यार्थीहरु रमाएर एकै ठाउँमा मैनबत्ती उत्पादन कार्यमा संलग्न भयौं । यसले हामीलाई जिवनोपयोगी सीप सिकाएको छ ।’

मैनबत्ती उत्पादनले विद्यालयमा केही आयआर्जन भएको छ भने विद्यार्थीहरुमा सिर्जनात्मक सीपको समेत विकास भएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद भट्टले बताए । उनले भने ‘हामीले विद्यालयमा बालबालिकाहरुलाई सिर्जनात्मक काममा लाग्ने वातावरण सिर्जना गरेका छौं । मैनबत्ती उत्पादनले बालबालिकाहरुलाई सीपको विकास भएको छ । यसले उनीहरुलाई भोलिका दिनमा समेत सहज हुनेछ ।’

सिद्धेश्वर माविले मैनबत्ती उत्पादनका साथै मकैको खोस्टाबाट चकटी निर्माण, च्याउ खेती, तरकारी खेती लगायतका कामहरु समेत गर्दै आएको छ । यी सबै कामहरुमा विद्यार्थीहरुको सहभागिता गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update