Sagun Khabar
बैतडीमा भिरबाट लडेर तीन बर्षमा १५ जना महिलाको मृत्यु 

बैतडी –बैतडीमा तीन बर्षको अवधिमा खर काट्ने क्रममा भिरबाट लडेर १५ महिलाको मृत्यु भएको छ । खर काट्नका लागि महिलाहरु भिरपाखामा जाने र उनीहरुको भिरबाट लडेर मृत्यु हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आर्थिक बर्ष २०७७÷७८ मा दुई जना महिलाको भिरबाट लडेर मृत्यु भएको थियो । आर्थिक बर्ष २०७८÷७९ मा एक महिलाको भिरबाट लडेर मृत्यु भएको थियो । 

Atrya hospital

यस्तै गत आर्थिक बर्ष २०७९÷८० मा भिरबाट लडेर १० जना महिलाको मृत्यु भएको थियो भने चालु आर्थिक बर्षको अहिले सम्म भिरबाट लडेर दुईजना महिलाको मृत्यु भइसकेको छ । 

महिलाहरुको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान जाने गरेका घटनाहरु बढ्दै गएका छन् । खरका लागि महिलाहरु भिरपाखामा जाने र भिरबाट लडेर मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

बैतडीमा अहिले पनि खर काट्ने काम भइरहेको छ । हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि खर काटेर थुप्रो बनाउने चलन रही आएकाले महिलाहरु खर काट्ने काममा व्यस्त रहेका हुन् । बैतडीका अधिकांश खरफागलाहरु भीरमा भएकाले खर काट्ने क्रममा महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको छ । 

खर काट्ने क्रममै बर्षेनी महिलाहरुले ज्यान गुमाउनुपरीरहेको सिगासका स्थानीय पदम साउँदले बताए । खर काट्नकै लागि भिरमा जानुपर्ने र त्यस्ता भिरहरुबाट लडेर महिलाको ज्यान गरेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update