बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा सेमीफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ । बुड्डाबाजे खेलमैदानमा रातामाटा आज भएको पहिलो खेलमा दनपा ४ ले दनपा ८ लाई २ विकेटले पराजित गरेसंगै दनपा ४ सेमीफाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको दनपा ८ ले १९.१ ओभर खेल्दै १०२ रन बनायो । उसका लागि मुकेश थापाले २४ र नवीन थापाले २२ रन बनाए ।
बलिङतर्फ दनपा ४ का वसन्त खत्रीले ४ र सन्तोष चन्दले ३ विकेट लिए ।
१०३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ४ ले १८.१ ओभरमा लक्ष्य पूरा गरेको स्कोरर तिलक बोहराले बताए । उसका लागि रघु भाटले ४३ र प्रदीप चन्दले २२ रनको योगदान गरे । सो खेलमा दनपा ४ का वसन्त खत्री प्लेयर अफ द म्याच घोषित भए ।
दनपा २, १० र ११ भने यसअघि नै सेमीफाइनलमा पुगिसकेका थिए ।
यस्तै आजै भएको दोश्रो खेलमा दनपा ६ ले दनपा ३ लाई ७१ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ६ ले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो । उसका लागि कल्पेश चन्दले ३८ र हर्ष कार्कीले २७ रनको योगदान गरे ।
१५७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ३ ले १६.५ ओभरमा अलआउट हुँदै ८५ रनमात्रै बनाउन सक्यो ।
उक्त खेलमा दनपा ६ का कल्पेश चन्द प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोलि सेमीफाइनलका खेल हुनेछन् । पहिलो खेलमा दनपा ४ र ११ भिड्दा दोश्रो खेलमा दनपा २ र १० आम्नेसाम्ने हुनेछन् ।