Sagun Khabar
बैतडीमा आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दै 

बैतडी –बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । पहिला पहिला आत्महत्याका एकाध घटना हुने भएपनि पछिल्ला केही बर्षयता आत्महत्याका घटना बढ्दै गएका छन् । आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरु समेत रहेका प्रहरीको तथ्यांकले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार चालु आर्थिक बर्षको अहिले सम्म १६ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १० पुरुष, ५ महिला र एक बालिका रहेका छन् । 

Atrya hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए । गत बर्षको तुलनामा यो बर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । यो बर्षको ४ महिना नबित्दै १६ जनाले आत्महत्या गरिसकेका र यो तथ्यांक निकै डरलाग्दो रहेको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । 

बैतडीमा आर्थिक बर्ष २०७८÷७९ मा ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आर्थिक बर्ष २०७८÷७९ मा २० पुरुष, ८ महिला, ४ बालक र ४ बालिकाले आत्महत्या गरेका थिए । 

यस्तै आर्थिक बर्ष २०७७÷७८ मा २० पुरुष, १७ महिला, २ बालक र ४ बालिका गरी ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 

विभिन्न मानसिक समस्या, लागु औषध, घरेलु हिंसा लगायतका कारण आत्महत्याका घटना बढ्दै गएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खत्रीले बताए । मानसिक तनाव लगायतका कारणले यस्ता घटना बढीरहेका उनले बताए । 

आत्महत्याका घटनामा कमी ल्याउनका लागि मानसिक स्वास्थ्यका कार्यक्रम ठाउँठाउँमा सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । मानसिक स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न सकेमा आत्महत्याका घटनामा केही कमी आउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

आत्महत्याका घटना रोकथामका लागि विद्यालयस्तरको पाठ्यक्रममै मानसिक स्वास्थ्यका बिषयवस्तु समावेश गर्नुपर्नेमा जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘मानिसमा आत्महत्या गर्ने सम्मको सोच कसरी आउँछ ? यो बिषयमा पाठ्यक्रमै राखेर सचेतना फैलाउन आवश्यक छ ।’
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update