Sagun Khabar
पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै, एक बर्षमा मझौला खालका ४ भूकम्प 

बैतडी–नेपालको पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै रहेको भूकम्पविद्हरुले बताएका छन् । लामो समयदेखि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले यो क्षेत्रमा महाभूकम्पको जोखिम कायमै रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । 

एक बर्षको अवधिमा पश्चिमी क्षेत्रमा ४ ओटा मझौला खालका भूकम्प गइसकेकाले यो क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै रहेको उनले बताए । पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएको ५ सय बर्षभन्दा बढी भइसकेकाले यो क्षेत्रमा ठूलो भूकम्पको जोखिम रहेको उनले बताए । 

एक बर्षको अवधिमा मझौला खालका चारओटा भूकम्प गएकाले यो क्षेत्रमा निरन्तर भूकम्पको जोखिम रहेको उनले बताए । 

Atrya hospital

२०७९ कार्तिक २२ मा डोटीको खप्तड आसपास केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो बेला भूकम्पमा परेर ६ जनाको मृत्यु भएको थियो भने सैयौं घर तथा संरचनाहरुमा क्षति पुगेको थियो । 

त्यसपछि २०७९ माघ १० मा बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो बेला पनि एकजनाको मृत्यु हुनुका साथै सैयौं संरचनाहरुमा क्षति पुगेको थियो । 

गएको असोज १६ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण एकजनाको मृत्यु हुनुका साथै सैयौं संरचनाहरुमा क्षति पुगेको थियो । 

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । यो भूकम्पले ठूलो क्षति पुर्याएको छ । अहिले सम्मको तथ्यांक अनुसार भूकम्पमा परेर जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको मृत्यु भइसकेको छ । कैयौं मानिस घाइते भएका छन् भने सैयौं संरचनाहरुमा क्षति पुगेको छ । 

एक बर्षको अवधिमा गएका चारओटा मझौला खालका भूकम्पहरुले पुर्याएको क्षति हेर्दा ठूलो भूकम्प आएमा हुन सक्ने क्षतिको आँकलन समेत गर्न नसकिने अवस्था रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तामाङले बताए । 

जाजरकोट भूकम्पले पुर्याएको क्षति हेर्दा महाभूकम्प आएमा भूकम्प प्रतिरोधी संरचना बाहेक अरु बाँकी नरहने उनले दाबी गरे । जाजरकोट भूकम्पबाट पनि अधिकांश पुराना र कच्ची घरमा क्षति पुगेको तामाङले बताए । 

भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिए । पश्चिमी क्षेत्रमा महाभूकम्पको जोखिम रहेको र यसै क्षेत्रमा भौतिक संरचनाहरु कमजोर रहेको उनले बताए । 

आठ रेक्टर स्केलमाथिको भूकम्पलाई महाभूकम्प भन्ने गरिएको तामाङले बताए । यो क्षेत्रमा महाभूकम्पको जोखिम कायमै रहेकाले यसबाट हुने क्षति न्यूनीकरणका उपाय अपनाउनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update