Sagun Khabar
बाढीले खेत बगाउँदा बैतडीका सुरेन्द्रको बिचल्ली

 बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ८ सिमारका सुरेन्द्र बिष्टको तरकारी खेतीबाटै रामै्र घरबार चलिरहेको थियो । तरकारी खेतीबाटै उनले आफ्नो छोरालाई धनगढीमा पढाईरहेका थिए । नजिकैको बजारमा तरकारी विक्रि गरेर घर खर्च चलाईरहेका सुरेन्द्रको अहिले विच्चली भएको छ । 

असार २७ गते सिमार खोलामा आएको बाढीले बिष्टको २० रोपनी खेत बगाएको स्थानीय गणेश पार्कीले बताए । उनले भने ‘गाउँका व्यवसायिक किसानको रुपमा चिनिएका बिष्टको तरकारी रोपको खेत बाढीले बगाएको छ । मकै फल्ने खेत समेत बाढीले बगाएपछि अहिले उनको परिवार बिचल्लीमा छ ।’

Atrya hospital

बाढीले २ लाख बढीको तरकारीबाली नष्ट गरेको बिष्टले बताए । उनले भने ‘खेतबारीकै भरको मान्छे हुँ । कसरी परिवार पाल्ने ? कसरी छोरालाई पढाउने ? निकै समस्या भएको छ ।’

खोलामा बाढी आउने क्रम नरोकिएकाले घर समेत बाढीको जोखिममा परेको उनले सुनाए । तरकारी खेतीबाटै जिविकोपार्जन गरिरहेका बिष्टलाई अहिले परिवार पाल्ने आधार समेत नरहेको उनले बताए । 

बाख्रापालन व्यवसाय समेत गरिरहेका बिष्टको बाख्रा खोर पनि बाढीको चपेटामा परेको छ । खोलाले बाख्राखोर भएको स्थानमा समेत कटान गर्न थालेको उनले बताए । उनले भने ‘खेती किसानीकै भरमा परिवार पाल्ने मेसो चलिरहेको थियो । तर बाढीले मेरो सबै सपना उजाड गरिदियो ।’

असार २७ गते आएको बाढीले दोगडाकेदारका विभिन्न स्थानमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । दोगडाकेदारकै घमालीमा बाढीले ३ सय रोपनी खेत बगरमा परिणत गरेको छ । 

बाढीले खेत बगरमा परिणत भएपछि किसानहरु बिचल्ली भएको स्थानीय जनकबहादुर कार्कीले बताए । अझै पनि पानी पर्ने बित्तिकै खोलामा बाढी आउने गरेको उनले बताए । उनले भने ‘किसानहरु अहिले निकै विचल्लीमा परेका छन् । धान रोपेको खेत बगाएपछि भोकमरीको सम्भावना बढेको छ ।’
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update