Sagun Khabar
दनपामा नगरस्तरीय क्रिकेट : आजको खेलमा दनपा ८ र १० विजयी 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । बुड्डाबाजे खेलमैदान रातामाटा जारी प्रतियोगितामा आज दनपा ८ र १० ले आ–आफ्ना खेल जितेका हुन् । 

आज भएको पहिलो खेलमा दनपा १० ले दनपा ९ लाई ८० रनले पराजित गरेको छ । टस जितेर दनपा ९ ले फिल्डिङ रोजेपछि दनपा १० ले ब्याटिङ गरेको थियो । उसले १५ ओभरमा अलआउट हुँदै ११४ रन बनायो । उसका लागि सुमित बुडालले १५ रनको योगदान दिएको अम्पायर महेश भण्डारीले बताए । 

बलिङतर्फ दनपा ९ का ललित जोशीले ४, चन्द्र जोशी र तर्क जोशीले समान ३÷३ विकेट लिए । 

Atrya hospital

११५ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ९ ले ८.२ ओभर खेल्दै ३४ रनमा अलआउट भयो । बलिङतर्फ दनपा १० का कैलाश बुडालले ७ विकेट लिए । उनी म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आज भएको दोश्रो खेलमा दनपा ८ ले दनपा १ लाई ९१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर्दै दनपा ८ ले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा २३६ रनको योगफल तयार पार्यो । उसका लागि रमेश धामीले अर्धशतक बनाए । उनले २३ बलमा ५१ रन बनाए । 

२३७ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको दनपा १ ले २० ओभरमा ९ विकेटको नोक्सानीमा १४५ रनमात्रै बनाउन सक्यो । उसका लागि सुमित भट्टले ६२ रनको योगदान गरेपनि हार टार्न सकेनन् । 

उक्त खेलमा दनपा ८ का रमेश धामी म्यान अफ दि म्याच घोषित भए । 

प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुनेछन् । पहिलो खेलमा दनपा १ र ४ भिड्दा दोश्रो खेलमा दनपा ५ र ७ आम्नेसाम्ने हुनेछन् । 

नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११टीमको सहभागिता छ । 

यही कार्तिक २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update