Sagun Khabar
बैतडीका २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’र जुकाको औषधि खुवाइँदै 

बैतडी – राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रम अन्तर्गत बैतडीका २२ हजार ५५१ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइँदैछ । यस्तै २० हजार बढी बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । 

आज र भोलि सञ्चालन हुने कार्यक्रम अन्तर्गत घरघरमा पुगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । 

Atrya hospital

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ बर्षदेखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने उनले बताए । भिटानिम ‘ए’कार्यक्रम सञ्चालनका लागि जिल्लाभरी ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएका सूचना अधिकारी लेखकले बताए । 

अभियान अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुले घरघरमै पुगेर भिटामिन ‘ए’र जुकाको औषधी खुवाइने भएपनि छिटफुटहरुलाई स्वास्थ्य संस्थामा समेत खुवाइने सूचना अधिकारी लेखकले बताए । 

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update