बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् ।
बुड्डाबाजे खेलमैदान रातामाटा सञ्चालन भइरहेको प्रतियोगितामा दनपा २ देहीमाण्डौंले लगातार दुई खेल जितेको छ । हिजो उद्दघाटन खेल जितेको दनपा २ देहीमाण्डौंले आज पनि आफ्नो खेल जितेको छ ।
दनपा ६ लाई ९ विकेटले हराउँदै दनपा २ देहीमाण्डौंले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको अम्पायर महेश भण्डारीले बताए ।
आजको दोश्रो खेलमा टस जितेर ब्याटिङ गरेको दनपा ६ को टीम ४९ रनमा अलआउट हुन पुग्यो । ५० रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको दनपा २ देहीमाण्डौंले ६.५ ओभरमा लक्ष्य प्राप्त गरेको थियो ।
दनपा २ का समीर बोहरा र गजेन्द्र बोहराले समान ४÷४ विकेट लिएका छन् । सो खेलमा दनपा २ का समीर बोहरा म्यान अफ दि म्याच घोषित भएका छन् ।
यस्तै आज भएको पहिलो खेलमा दनपा ५ लाई पराजित गर्दै दनपा ११ विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दनपा ५ ले १४२ रन बनायो । उसका लागि सुमन रावलले अर्धशतक प्रहार गरे ।
१४३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ११ ले १४.५ ओभरमा लक्ष्य प्राप्त गरेको अम्पायर भण्डारीले बताए । उक्त खेलमा दनपा ११ का मदन चन्द म्यान अफ दि म्याच घोषित भए ।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११टीमको सहभागिता छ ।
यही कार्तिक २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।