बैतडी –बैतडीको पाटनमा जारी पाटन प्रिमियर लिग (पिपिएल)मा आज तीन खेल सम्पन्न भएका छन् ।
आज भएको पहिलो खेलमा धारिलोले भुमेश्वरलाई हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धारिलोले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो ।१३२ रनको विजयी लक्ष्य पछ्याएको भुमेश्वरले १४.१ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो ।
यसैगरी आजै भएको दोश्रो खेलमा नागेश्वरले दिपचन क्रिकेट क्लबलाई हराएको छ । टस जितेर ब्याटिङ थालेको नागेश्वरले १५ ओभरमा २०५ रनको बिशाल स्कोर तयार पार्यो । २०६ रनको विशाल लक्षका साथ मैदान उत्रेको दिपचनले १५ ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सकेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । उक्त खेलमा नागेश्वरका सुनिल म्यान आफ द म्याच चुनिए ।
यसैगरी आजै भएको तेश्रो खेलमा धारिलो क्रिकेट क्लबलाई सहस्त्रलिङ्ग क्रिकेट क्लबले पराजित गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको धारिलोले १४.४ ओभरमा अलआउट हुदै ५० रन मात्रै जोड्न सक्यो । ५१ रनको सामान्य लक्ष्य पछ्याएको सहस्त्रलिङ्गले ३.१ ओभरमा लक्ष्य भेट्टायो । सहस्त्रलिङ्गका बिरेन्द्र चन्द म्यान आफ द म्याच चुनिए ।
लगातार ३ खेलमा विजयी भएको नागेश्वर क्रिकेट क्लबव क्वाटरफाईनलमा प्रवेश गरेको छ ।