Sagun Khabar
दशैंपछि बैतडी प्रशासनमा सेवाग्राहीको भीड 

बैतडी –दशैंको बिदा सकिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवाग्राहीको भीड बढेको छ । गएको आइतबारदेखि प्रशासन कार्यालयमा सेवाग्राहीको संख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

दशैंको समयमा घरबाहिर रहेकाहरु समेत घरमा फर्केका र उनीहरु समेत सेवा लिनका लागि पुग्ने भएकाले सेवाग्राहीको संख्या बढेको हो । 

Atrya hospital

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, पासपोर्ट बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने र अन्य सिफारिशहरु बनाउनेको संख्या बढेको सूचना अधिकारी बोहराले बताए । 

गएको आइतबारदेखि दैनिक दुई सयको हाराहारी नागरिकता जारी भइरहेका उनले बताए । यस्तै पासपोर्ट र राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या पनि विगतको तुलनामा बढेको सूचना अधिकारी बोहराले बताए । 

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको संख्या बढेपछि कार्यालय समयभन्दा पछि पनि सेवा प्रदान भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सेवा लिनका लागि कार्यालयमा पुगेका सेवाग्राहीहरुलाई समस्या नहोस भनेर काम गर्ने गरिएको उनले बताए । 

जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता प्रदान गर्नुका साथै पासपोर्ट,राष्ट्रिय परिचय पत्र र अन्य सिफारिशहरु समेत प्रदान गर्दै आएको छ ।यस्तै कसैको नागरिकता हराएको भएमा प्रतिलिपि दिने काम समेत प्रशासनले गर्दै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update