बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि शुरु भएको नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा वडा नं २ देहीमाण्डौंले विजयी शुरुवात गरेको छ । वडा नं ३ दुर्गाभवानीलाई ९ विकेटलाई पराजित गर्दै देहीमाण्डौंले विजयी शुरुवात गरेको हो ।
बुड्डाबाजे खेलमैदानमा रातामाटा टस जितेर ब्याटिङ गरेको वडा नं ३ दुर्गाभवानीले १७ ओभरमा अलआउट हुँदै ८१ रन मात्रै बनाउन सक्यो ।
८२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको वडा नं २ देहीमाण्डौंले ६ दशमलव ४ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । उसका लागि दिपक बोहराले ५४ रन बनाए ।
उक्त खेलमा देहीमाण्डौंका गजेन्द्र बोहरा म्यान अफ दि म्याच घोषित भएका छन् । उनले ३ विकेट लिनुका साथै १३ बलमा २६ रनको योगदान गरेका थिए ।
आजदेखि शुरु भएको प्रतियोगितामा ११ ओटै वडाका ११ टीमको सहभागिता रहेको छ ।
यही कार्तिक २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द बिशिष्ट अतिथी रहेकी थिइन् ।
प्रतियोगिता उद्दघाटन सत्रमा वडा अध्यक्षहरु, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द लगायतको सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्दघाटन सत्रमा ब्याडमिन्टनका अन्तरराष्ट्रिय खेलाडी सुरेश जोशीलाई नगद २५ हजारसहित दोसल्ला, प्रमाणपत्र र मायाको चिनो दिएर सम्मान गरिएको छ ।
दशरथचन्द नगरपालिका ९ घर भएका जोशी १९ औं दक्षिण एसीयाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट ब्याडमिन्टन खेलाडीको रुपमा प्रतिनिधित्व गरेका थिए ।