Sagun Khabar
पचास प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्दै पाटन नगरपालिका 

बैतडी –बैतडीको पाटन नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई गहुँको बीउ वितरण गर्न थालेको छ । किसानहरुको माग अनुसार उन्नत जातको गहुँको बीउ वितरण गर्ने कार्य भइरहेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

पाटन क्षेत्रमा गहुँ छर्ने समय भएकाले ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्ने कार्य भइरहेको छ । डब्लु के १२०४ जातको गहुँको बीउ वितरण भइरहेको उनले बताए । 

Atrya hospital

मध्यपहाडी क्षेत्रका लागि सिन्दुरे रोग प्रतिरोधात्मक क्षमता भएको डब्लु के १२०४ जातको गहुँको बीउ अनुदानमा वितरण भइरहेको हो । बीउबिजन गुणस्तर केन्द्रले सिफारिश गरेको बीउ किसानहरुलाई वितरण गरिरहेको कृषि शाखा प्रमुख अवस्थीले बताए । 

नगरपालिकाले सशर्त कार्यक्रम अन्तर्गत ४० क्विन्टल गहुँको बीउ खरीद गरेर किसानहरुलाई वितरण गरिरहेको छ । बैतडीका लागि सिद्धबाबा कृषि उद्योगबाट बीउ खरीद गर्न तोकिएकाले सोही उद्योगबाट उन्नत जातको गहुँको बीउ खरीद गरिएको उनले बताए । 

डब्लु के १२०४ जातको गहुँको बीउको मूल्य प्रतिकेजी ७० रुपैंया रहेको र किसानहरुलाई ५० प्रतिशत अनुदान दिएर ३५ रुपैंया प्रतिकेजीका दरले उपलब्ध गराउने गरेको अवस्थीले बताए । 

डब्लु के १२०४ जातको गहुँ १७८ दिनमा पाक्ने र मध्यपहाडी क्षेत्रका लागि उपयुक्त भएकाले यो जातको प्रयोग गर्नुपर्नेमा कृषि प्राविधिकहरुले जोड दिएका छन् । 

बैतडीमा झण्डै १८ हजार हेक्टर क्षेत्रफल जमीनमा गहुँखेती गरिँदै आएको छ । जिल्लाको पाटन क्षेत्रलाई गहुँ उत्पादनका लागि पकेट क्षेत्रको रुपमा समेत मानिएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update