Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकामा कहिले चल्छ नगर बस ?

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा नगर बस सेवा सञ्चालन हुन सकेको छैन् । जनप्रतिनिधिहरुले नगर बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म नगर बस सेवा सञ्चालनमा नआएको हो ।

     नयाँ जनप्रतिनिधिहरुले अभिभारा सम्हालेको  डेढ वर्ष  बढी समय भैसक्दा समेत नगर बस सेवा सञ्चालन नभएको स्थानीयहरुको भनाई छ ।  जनप्रतिनिधिको चुनावी प्रतिबद्धताबाट नगरबसको प्रतिक्षामा बसेका  नगरबासीहरु बस सेवा सञ्चालन नहुँदा अहिले  निराश बन्न थालेका छन् । 

चुनावी दौरानमा घरदैलो गर्दै गर्दा र विभिन्न चुनावी सभाहरु सम्बोधन गरिरहेका बेला  नगर बस खरिद गर्ने  प्रतिबद्धता जनाएका जनप्रतिनिधिहरुले सेवा सञ्चालन गर्न ध्यान नदिंदा  नागरिकहरु निराश बन्न थालेका हु्न ।बस सेवा सञ्चालन नहुँदा नगरबासीहरु समस्यामा छन् ।

Atrya hospital

नगर बस सेवा सञ्चालन नहुँदा यहाँका नागरिकहरुले निजि सवारी साधनमा महँगो भाडा तिरेर यात्रा गर्नुे पर्ने बाध्यता रहेको  हो । चुनावका बखत  नगरपालिकाका नगर प्रमुख पुष्कर राज  जोशी र उप प्रमुख कौशिला चन्द दुवै जनाले नगर बस सञ्चालन गर्ने भन्दै आश्वासनका पोका बाँडेका थिए ।

तर अहिले सम्म सेवा सञ्चालनमा ध्यान नगएको स्थानीयहरुको भनाई छ । सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकाको सीमामा पर्ने सतबाँझबाट सीमानाका झुलाघाट सम्म नगर बस सञ्चालन गर्ने जनप्रतिनिधिहरुको योजना भएपनि कार्यान्वयन हुन सकेको छैन् ।

नागरिकहरुले बस सेवा सञ्चालनमा नगर सरकारको  ध्यान नगएको भन्ने  गुनासो गरेपनि  नगरपालिकाले  भने  बस सञ्चालनको पहल सुरु गरेको देखिएको  छ । नगरपालिकाले गत आर्थिक वर्षमै नगर बस  खरिदका लागि बजेट विनियोजन गरेको थियो ।

गत आर्थिक वर्षमै ५५ लाख बजेट विनियोजन गरेर नगरब बस खरिद गर्ने योजना भएपनि अर्थ मन्त्रालयले संघीय अनुदानको पैसाबाट सवारी साधन खरिद नगर्न भनेपछि खरिद प्रकृया रोकिएको थियो ।यस्तै नगरपालिकाले यो वर्ष बस खरिद हुने  जनाएको  छ ।

चालु आर्थिक वर्षमा बस खरिदका लागि ५१ लाख ५० हजार बजेट विनियोजन भएको नगर प्रमुख पुष्कर राज जोशीले बताए । दुई तिन महिना भित्रै नगर बस सेवा सञ्चालन हुने उनले दाबी गरेका छन् । बस खरिद प्रकृयामा गैसकेकाले सम्भवतः पौष महिना पछि नगर बस सञ्चालनमा आउने उनको भनाई छ ।

नगर बस सञ्चालनमा आए  यहाँका नागरिकहरुलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update