Sagun Khabar
बैतडी बचत तथा ऋण सहकारी संघ निष्क्रिय, सहकारीहरुको बचत रकम जोखिममा 

बैतडी –बैतडी बचत तथा ऋण सहकारी संघ पछिल्लो समयमा निष्क्रिय भएको छ । जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संस्थाको रुपमा रहेको संघ निष्क्रिय भएपछि सहकारीहरुको बचत रकम जोखिममा परेको छ । 

बैतडी बचत तथा ऋण सहकारी संघमा ६२ ओटा बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य रहेका छन् । सदस्य सहकारी संस्थाहरुले संघमा २२ देखि २८ हजारसम्म बचत गरेका महारुद्र बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मदनसिंह भाटले जानकारी दिए । 

Atrya hospital

पछिल्लो ५ बर्षयता सहकारी संघ निष्क्रिय भएपछि सहकारीहरुको बचत रकम जोखिममा परेको उनले बताए । सदरमुकाममा रहेको संघको कार्यालय समेत अहिले बन्द अवस्थामा रहेको छ । 

बैतडी बचत तथा ऋण सहकारी संघले मर्सीकोर नेपालको सहयोग कार्यक्रम सञ्चालन गरेको बेला सक्रियता देखाएको भएपनि त्यसपछि निष्क्रिय रहेको छ । 

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संस्थाको बैतडी बचत तथा ऋण सहकारी संघमा बचत गरेको भएपनि बचत रकम जोखिममा परेको देहीमाण्डौंस्थित गतिशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिरा बोहराले बताइन् । 

बैतडी बचत तथा ऋण सहकारी संघले ९ लाख रुपैंया ऋण लगानि गरेको र सो रकम उठाउन बाँकी रहेको संघका अध्यक्ष शेरसिंह कार्कीले बताए । सदस्य संस्थाहरुको बचत रकम फिर्ताका लागि पहल गरिने उनले बताए । 

पछिल्लो समयमा कार्कीको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएको भएपनि संघलाई चलायमान भने बनाउन सकिएको छैन् । पाटनस्थित सुनौलो बचत तथा ऋण सहकारी संस्थासंगमात्रै संघको ४ लाख ऋण लगानि रहेको अध्यक्ष कार्कीले बताए । ऋण लगानि गरिएका सहकारीहरुबाट ऋण असुल गरेर बचत फिर्ता गरिने उनले बताए । 

बैतडी बचत तथा ऋण सहकारी संघ निष्क्रिय भएपछि सहकारी संस्थाहरु समेत सुस्त भएका दशरथचन्द नगरपालिका १ स्थित महारुद्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए । उनले भने ‘सहकारी संघ नै सुस्त भएपछि धेरै सहकारीहरु निष्क्रिय भएका छन् । जुन उद्देश्यले सहकारीहरु स्थापना भएका हुन् त्यो उद्देश्य अनुसार सहकारीहरु अघि बढ्न सकेका छैनन् ।’
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update