Sagun Khabar
बैतडीमा असुरक्षित भवनबाट नागरिकलाई सुरक्षा दिँदै प्रहरी 

बैतडी–नागरिकको जीउधनको सुरक्षाको लागि रातदिन खटिने प्रहरी आँफै असुरक्षित भवनमा बस्न बाध्य भएका छन् । बैतडीमा प्रहरीका अधिकांश भवन जीर्ण भएकाले त्यस्तै भवनमा बसेर सुरक्षा दिनुपर्ने बाध्यता रही आएको छ । 

जिल्लामा ३२ ओटा प्रहरीका युनिट मध्ये १३ ओटा भाडाका घरमा सञ्चालनमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । यस्तै १२ ओटा प्रहरीका आफ्नै भवन रहेपनि ती सबै जीर्ण अवस्थामा रहेका खत्रीले बताए । 

Atrya hospital

जिल्लाका अधिकांश प्रहरीचौकीका भवन बस्न लायक नरहेका बताइएको छ । पुराना प्रहरी युनिटहरु जीर्ण भएकाले प्रहरीलाई बसोबासकै समस्या रहेको छ । 

जिल्लाको सेरा प्रहरीचौकी, सिमार प्रहरीचौकी, बाराकोट प्रहरीचौकी, देहीमाण्डौं प्रहरीचौकी, गुरुखोला प्रहरीचौकी, गाँजरी प्रहरीचौकी लगायतका युनिटहरुका भवन जीर्ण अवस्थामा रहेका प्रहरी निरीक्षक खत्रीले बताए । उनले भने ‘कतिपय भवनको छाना जीर्ण अवस्थामा छन् भने कतिपय भवन नै असुरक्षित रहेका छन् । यस्तो अवस्थामा असुरक्षित भवनबाटै प्रहरीले सेवा दिनुपर्ने अवस्था रही आएको छ ।’

प्रहरीले १३ ओटा भवनको मासिक रुपमा भाडा तिर्दै आएको छ । तर भाडाका भवन पनि सबै कच्ची र जीर्ण रहेका छन् । महाकाली किनारतिरका भाडामा लिएका भवनहरु झन् असुरक्षित रहेका प्रहरी निरीक्षक खत्रीले बताए । 

महाकालीका किनारका धर्मघाट, कुस्मौद घाट लगायतका प्रहरीचौकी कच्ची भवनमा रहेका छन् । कच्ची भवनमा सर्पको समेत डर हुने गरेको छ । महाकाली किनारतिर सर्पको बिगबिगी भएका कारण भवनभित्रै सर्प पस्ने गरेका छन् । तर पनि प्रहरीले त्यस्तै भवनहरुबाट सुरक्षा दिनुपर्ने अवस्था रही आएको छ । 

जीर्ण भवन मर्मतका लागि चालु आर्थिक बर्षमा कुनै योजना नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रदेश सरकारबाट पुरघाट प्रहरीचौकी स्तरोन्नती बाहेक अरु भवन मर्मतका लागि रकम नआएको प्रहरी निरीक्षक खत्रीले बताए । 

प्रहरीका भवन जीर्ण भएका कारण भूकम्प गएको बेला समेत जोखिम रहेको छ । सुदूरपश्चिम  क्षेत्रमा लगातार भूकम्प गइरहेकाले प्रहरी भवन समेत जोखिममा रहेका प्रहरी निरीक्षक खत्रीले बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update