Sagun Khabar
ग्रामीण सडक सफाइ गर्दै बैतडीका स्थानीय तह 

बैतडी –बर्षातका कारण अवरुद्ध भएका बैतडीका ग्रामीण सडक सञ्चालनमा आउन थालेका छन् । बर्षातका कारण पहिरो आएर अवरुद्ध भएका सडक खुलाउने काम भइरहेको स्थानीय तहहरुले जनाएका छन् । 

दशैंको समयमा ग्रामीण क्षेत्रका नागरिकहरुलाई सहज होस भनेर सडक खुलाउने काम भइरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । पालिकाका ८ ओटै वडामा रहेका ग्रामीण सडक खुलाउने काम भइरहेको अध्यक्ष कुँवरले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिकाका अधिकांश ग्रामीण सडक सुचारु भइसकेका र केही सडकमात्रै सफाइ गर्न बाँकी रहेका अध्यक्ष कुँवरको भनाइ छ । दशैं अघि सबै सडक सुचारु भइसक्ने अध्यक्ष कुँवरले बताए । उनले भने ‘हामीले दशैंलाई लक्षित गरेर सडक सुचारु गरिरहेका छौं । सबै वडाका मुख्य सडकलाई प्राथमिकतामा राखेर सडक सफाइको काम भइरहेको छ ।’
गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर सडक सफाइको काम अघि बढाएको अध्यक्ष कुँवरले बताए । 

जिल्लाको दशरथचन्द नगरपालिकाले पनि ११ ओटै वडामा रहेका ग्रामीण सडक सफाइ गरिरहेको कार्यालयका नायब सुब्बा अमरबहादुर कार्कीले बताए । नगरपालिकाभित्रका सबै ग्रामीण सडकमा अहिले सवारी साधन सञ्चालनमा आएको उनको भनाइ रहेको छ । 

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाले पनि सडक सफाइ गरिरहेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । पालिकाभित्रका ग्रामीण सडक सफाईको काम भइरहेको उनले बताए । 

जिल्लाको पाटन नगरपालिकाले पालिकाभित्रका ग्रामीण सडक सफाइ गरिरहेको नगर प्रमुख गौरीसिंह रावलले बताए । समस्या भएका ठाउँमा सडक सफाइको काम भइरहेको उनले बताए । 

दशैंलाई लक्षित गरेर स्थानीय तहहरुले सडक सफाइलाई तीव्रता दिएका छन् । दशैंको समयमा आवतजावतमा सहज होस भनेर सडक सफाइको काम भइरहेको स्थानीय तहहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update