Sagun Khabar
झुलाघाट नाकामा बुधबारदेखि पूर्ण रुपमा आवागमन सुचारु हुने

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा भोलिदेखि पूर्ण रुपमा आवागमन सुचारु हुने भएको छ । झुलाघाट पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ देखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो । 

झुलाघाट पुल मर्मत कार्य सम्पन्न भइसकेकाले बुधबार (भोलि)बाट पूर्ण रुपमा आवागमन सुचारु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Atrya hospital

झुलाघाट नाकामा करीब दुई सय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ । पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो । 

भारतीय पक्षले पुल मर्मतसम्भारको काम गरिसकेकाले भोलिदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

झुलाघाट नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै दशैंका लागि घर फर्कने नागरिकहरुलाई सहज भएको छ । नाकामा आंशिक रुपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकोमा अब झण्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । 

नाका पूर्ण रुपमा सुचारु भएसंगै दशैंको समयमा बैतडीका शक्तिपीठहरुमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीहरुलाई समेत सहज भएको भारतीय पत्रकार प्रमोद भट्टले बताए । बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेव लगायतका मन्दिरहरुमा दर्शनका लागि दशैंको समयमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update