Sagun Khabar
अनसन बसेका लेन्थवर्कर भन्छन् –‘अब कात्रो पठाईदेउ’

बैतडी –सडकमा काम गरेको ज्याला नपाएको भन्दै पाटन–पञ्चेश्वर सडकका लेन्थवर्कर अनसन बसेको १० दिन पूरा भईसकेको छ । गएको २१ महिनादेखि आफूहरुले ज्याला नपाएकाले अनसन बस्न बाध्य भएको उनीहरुले बताएका छन् । लामो समयदेखि आफूहरु सडकमा काम गर्दै आएको र सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुलाई विचल्लीमा पारेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । ‘हामीलाई सबैले आश्वासन दिएको हो । तपाँईहरुको काम गर्नोस । हामी व्यवस्था गर्छौ भनेका हुन् ।’ उनले भनिन् ‘अरु त म केही भन्दैन दामोदर दाईसंग कात्रो दिन आउनोस भन्छौं । हामी अन्तिम अवस्थामा पुगिसकेका छौं ।’

अनसन बसेको समयमा दुई पटक बेहोस भएकी लक्ष्मीले अब आफू बोल्न नसक्ने बताइन् । ‘यो देशमा सरकार छ कसरी भनौ ? सरकार भए हाम्रो आवाज सुन्थ्यो । हामी बर्षातमा पालमुनि बसीरहेका छौं । हाम्रो पीडा नदुख्ने सरकार कस्तो सरकार हो ?’उनले भनिन् 

Atrya hospital

दुधे बालक छोडेर अनसनमा बसेकी लेन्थवर्कर सरस्वती साउँदलाई घरी छोराको याद आउने गरेको छ । सडककै भरमा घरबार चलाईरहेकी उनको चुल्हो बल्ने अवस्था नआएपछि उनी अनसन बस्न थालेकी हुन् । उनले भनिन् ‘दुधे बालकलाई अर्काको जिम्मा छोडेर आएकी छु । तर हाम्रो माग पूरा गर्न कसैले पहल चालेका छैनन् । भेटघाट गर्न सबै आउँछन् । तर समस्या समाधान कसैले गरेको छैन् ।’

गएको असार १८ गतेदेखि १२ जना लेन्थवर्कर आफूले काम गरेको ज्याला पाउनुपर्ने भन्दै अनसनमा बसेका छन् । सरकारले चाहेमा उनीहरुमा माग पूरा हुनेमा उनी विश्वस्त छन् । तर सरकारले आफ्नो पीडा नसुनेको लेन्थवर्करहरुको गुनासो छ । ‘हामी पालमुनि यो बर्षातमा बसीरहेका छौं । हाम्रा माग सांसदहरुले समेत सुनेनन् । हाम्रो रोजीरोटीमा लात हानिएको छ । तर कसैलाई मतलब छैन् ।’लेन्थवर्कर बज्जीरसिंह नायकले भने, ‘अब हामी छोड्नेवाला छैनौं । सडकमै ज्यान दिन तयार छौं ।’

सरकारी पक्षकै आनाकानीका कारण आफूहरु समस्यामा परेको लेन्थवर्कर जयराम भुलले बताए । उनले भने ‘हामी सडकमा काम गर्ने मान्छेहरुमाथि राजनीति नगर्नोस । हामी मजदुर हौं । हामी न्याय चाहन्छौं  । हाम्रो पनि घरपरिवार छ । सरकारले हाम्रो पीडा सुनोस ।’

गएको १० दिनदेखि अनसनमा बसेका लेन्थवर्कर घनश्याम भट्टले पनि अब आफूहरु माग पूरा नहुँदा सम्म घर नफर्कने बताए । उनले भने ‘हामी आन्दोलनका अन्य कार्यक्रम गर्न तयार छौं । तर हामी माग पूरा नहुँदा सम्म घर फर्किदैनौं ।’

लेन्थवर्कर अनसनमा बसेपछि उनीहरुका माग सम्बोधन गर्ने भन्दै जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा सहयोग समिति समेत बनेको छ । तर त्यो समितिले पनि उनीहरुका माग सम्बोधन गर्नका लागि ठोस निकास दिन सकेको छैन् ।
 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update