काठमाडौं – एसीसी यू–१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।
बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाएका थिए । देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ दशमवल ५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो । बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेश कडेलले ६ विकेट लिएका थिए । दिपेशले ९ दशमवल ५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए । त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए ।
नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेबिया खेल्ने छ ।