Sagun Khabar
पञ्चेश्वर स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश सार्की उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित  

बैतडी–बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश सार्की उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले धनगढीमा आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सार्कीलाई सम्मानित गरिएको हो । 

दुर्गममा रहेको स्वास्थ्य संस्थाबाट उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सार्कीलाई दोसल्लासहित प्रमाणपत्र प्रदान गरिएको छ । 

स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदानमा नौलो अभ्यास गर्दै सार्कीले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । 

Atrya hospital

प्रदेशभरीका स्वास्थ्यकर्मीहरुमध्ये सार्कीलाई निर्देशनालयले सम्मानित गरेको हो । 

दुर्गममा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीले सेवाग्राही आउँदा साइरन बज्ने प्रणालीको विकास गरेको छ । इञ्चार्ज सार्कीले आफ्नै लगानिमा सीसीटीभी क्यामेरा जडान गरेर साइरन बज्ने व्यवस्था मिलाएका हुन् । 

यस्तै पञ्चेश्वर स्वास्थ्यचौकीले स्वास्थ्य संस्थामा प्रसूती हुन आउने आमाहरुलाई अन्यत्र रेफर गर्नुपरेमा यातायात खर्चको व्यवस्था गरेको छ भने आमा समूहको बैठकमा स्वास्थ्यका कार्यक्रमहरुको प्रभावकारी रुपमा जानकारी दिने गरेको छ । 

स्वास्थ्यचौकीमा उपचारका लागि आएका बिरामी मध्ये अन्यत्र प्रेषण गरेका र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई स्वास्थ्यचौकी इञ्चार्ज सार्कीले आँफैले खर्च दिने गरेका छन् । गएको ३ बर्षयता बिरामीहरुलाई यातायात खर्च बाफत ३२ हजार ८ सय रुपैंया व्यक्तिगत रुपमा उनले खर्च गरेका छन् । 

यस्तै सम्मानित भएका स्वास्थ्यकर्मी सार्कीले पञ्चेश्वर स्वास्थ्यचौकीमा इन्टरनेट जडानका लागि १९ हजार बढी आफ्नै लगानि गरेका छन् भने स्वास्थ्यचौकीमा पानीको व्यवस्थापनका लागि पहल गरेका छन् । 

नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि व्यक्तिगत रुपमा समेत निकै पहल गरेको भन्दै सार्कीलाई सम्मानित गरिएको हो । उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएपछि अझै काम गर्ने हौसला बढेको इञ्चार्ज सार्कीले बताए । उनले भने ‘यो सम्मानले मलाई अझै स्वास्थ्य क्षेत्रमा थप खटिएर काम गर्ने हौसला मिलेको छ । मलाई यहाँ सम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चहान्छु ।’

यसअघि स्वास्थ्य कार्यालय बैतडीले समेत इञ्चार्ज सार्कीलाई नगद पुरस्कारसहित सम्मानित गरेको थियो । जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठीमा जिल्लाका उत्कृष्ट १० स्वास्थ्यकर्मीमध्ये सार्की समेत सम्मानित भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update