Sagun Khabar
बैतडीमा डेंगुको जोखिम बढ्दै, तीन महिनामा ५८ जनामा डेंगु संक्रमण पुष्टि 

बैतडी –बैतडीका ग्रामीण क्षेत्रमा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । डेंगु परीक्षणको सुविधा भएका ठाउँमा प्रयोगशालामा चेकजाँच गर्दा ज्वरोका बिरामीहरुमा डेंगु देखिन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

गएको साउनयता बैतडीमा अहिले सम्म ५८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । उपचारका लागि स्वास्थ्य संस्थामा आएका ज्वरो बिरामीहरुको चेकजाँच गर्दा उनीहरुमा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन जयसिंह बडालले बताए । 

परीक्षणको पहुँच नभएका धेरै ठाउँ नभएकाले समुदायमा डेंगुका बिरामी अझै बढी हुन सक्ने अनुमान गरिएको छ । 

Atrya hospital

सिगास गाउँपालिकाको वडा नं स्थित गाँजरी स्वासथ्यचौकीले डेंगु परीक्षण अभियान सञ्चालन गर्दा चार दिनको अवधिमा १० जनामा डेंगु संक्रमण भएको पाइएको थियो । ज्वरोका बिरामीहरुमा डेंगु परीक्षण गर्दा चार दिनमै १० जना संक्रमण पुष्टि भएको गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनकसिंह धामीले बताए । उनले भने ‘अहिले गाउँगाउँमा ज्वरोका बिरामी छन् । धेरैजसोमा डेंगुको संक्रमण देखिन थालेको छ ।’

एडीज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा ल्याब टेक्निसियन बडालले जोड दिए । 

डेंगु परीक्षणका लागि सबै पालिकाहरुमा डेंगु परीक्षण कीट पठाइएकाले ज्वरो आएका बिरामीहरुले नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ । 

गएको साउनयता सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै सिगास गाउँपालिकामा १३ जना, पाटन नगरपालिकामा ५ जना, डिलाशैनी गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा ३ जना  र मेलौली नगरपालिकामा एकजनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।

डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update