Sagun Khabar
बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना : दुई सय बढी प्रहरी परिचालन 

बैतडी –दशैं–तिहार जस्ता ठूला चाडपर्व नजिक आएसंगै बैतडी प्रहरीले सुरक्षा योजना बनाएर काम अघि बढाएको छ । चाडपर्वका समयमा हुन सक्ने विभिन्न आपराधिक क्रियाकलापहरु नियन्त्रणका लागि सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

जिल्लाभरी चाडपर्व लक्षित सुरक्षाका लागि दुई सय बढी प्रहरी खटाइएको प्रहरी निरीक्षक खत्रीले बताए । उनले भने ‘हामीले सुरक्षा योजना बनाएर काम गरिरहेका छौं । चाडपर्वको समयमा हुन सक्ने सबै प्रकारका अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रत्येक युनिटबाट प्रहरी परिचालन गरेका छौं ।’

Atrya hospital

दशैंतिहारमा हुन सक्ने जुवातास नियन्त्रणका लागि प्रहरीले सादा पोशाकमा प्रहरी खटाएको छ भने विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राहरुलाई व्यवस्थित गर्ने योजना समेत बनाएको छ । 

दशैंको समयमा यात्रुहरु ठगिने सम्भावनालाई ध्यानमा राखेर जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष र नागरिक सहायता कक्षा सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक खत्रीले बताए । उनले भने ‘चाडपर्वको समयमा यात्रुहरुलाई समस्या नहोस भनेर हामीले ६ ठाउँमा यात्रु सहायता कक्ष र नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएका छौं । त्यस्ता कक्षबाट समस्यामा परेका यात्रुहरुलाई सहयोग गरिरहेका छौं ।’

चाडपर्वको समयमा जुवातास नियन्त्रण, मेला तथा जात्रा व्यवस्थापन, बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षा, सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनले भने ‘हामीले चाडपर्वको समयमा सबैले हर्षोल्लासका साथ चाडपर्व मनाउन सकुन् भन्ने उद्देश्यसहित सुरक्षा योजना बनाएका छौं । सोही अनुसार प्रहरी परिचालन भएका छन् । ढुक्कसंग चाडपर्व मनाउन आग्रह गर्दछौं ।’

जिल्लाभरीका प्रहरी युनिटबाट सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएका प्रहरी नायब उपरीक्षक गिरीले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update