Sagun Khabar
बैतडीको न्वाघरी गाडमा स्थानीयले बनाए काठे पुल, खोला तर्न सहज 

बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं ६ र ७ जोड्ने न्वाघरी गाडमा स्थानीयबासीहरुले काठे पुल निर्माण गरेका छन् । २०७८ सालमा नदीमा आएको बाढीले आरसीसी पुल बगाएपछि विद्यार्थी लगायत स्थानीयहरु नदीमा जोखिम मोलेर आवतजावत गर्दै आइरहेका थिए । 

वडा नं ७ साङडाका स्थानीयबासीहरुको पहलमा नदीमा काठे पुल निर्माण गरिएको गणेश माविका शिक्षक पदम साउँदले बताए ।

Atrya hospital

नदीमा पुल नहुँदा विद्यार्थीहरु नदीमै जोखिम मोलेर वारपार गर्ने गर्दथे । बुधबारदेखि काठेपुल सुचारु भएपछि बालबालिकाहरुलाई सहज भएको शिक्षक साउँदले बताए । 

न्वाघरी गाडको दुई ठाउँमा स्थानीयहरुले मिलेर काठेपुल निर्माण गरेको स्थानीय दानसिंह ऐरीले बताए । नदीमा निर्माण गरिएको आरसीसी पुल बगाएको दुई बर्ष हुँदा समेत सरकारले केही चासो नदिएपछि आफूहरु मिलेर काठेपुल निर्माण गरेको उनले बताए । उनले भने ‘ पुल नहुँदा बालबालिकाहरुलाई विद्यालय पुग्नै समस्या भयो । स्थानीयहरुलाई आवतजावतमै समस्या भएपछि हामीले मिलेर काठे पुल निर्माण गरेका हौं ।’

न्वाघरी गाडमा पुल नहुँदा स्थानीयहरुलाई बजार आवतजावतमा समेत समस्या भइरहेको थियो । बझाङको देउरा बजार जोड्ने मुख्य बाटो न्वाघरी गाड भएरै जाने भएकाले पुल नहुँदा धेरै समस्या भएको स्थानीय हरिलाल साउँदले बताए । पुल बनाउनका लागि कसैले पहल नगरेपछि आफूहरुले काठेपुल निर्माण गरेको उनले बताए । 

न्वाघरी गाडमा काठेपुल निर्माण भएपछि विद्यार्थीहरुलाई सहज भएको गणेश माविकी छात्रा विन्दु चन्दले बताइन् । काठेपुल निर्माण भएपछि खोला तरेर स्कुल जानुपर्ने बाध्यता हटेको उनले बताइन् । 

सिगास गाउँपालिका वडा नं ७ को साङडा, वडा नं ६ को थालाराका बालबालिकाहरु न्वाघरी गाड तरेर गणेश माविमा पुग्ने गर्दछन् । अब काठे पुल निर्माण भएपछि तत्कालका लागि केही जोखिम हटेको शिक्षक पदम साउँदले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update