Sagun Khabar
बझाङ भूकम्पका २३४ पराकम्प, पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै 

बैतडी –बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर मंगलबार ६.३ रेक्टर स्केलको भूकम्प गएपछि बुधबार दिउँसो सम्म २ सय ३४ पराकम्प गइसकेका छन् । अझै पनि सो भूकम्पका पराकम्प आउने क्रम जारी रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

पछिल्लो समयमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा केन्द्रबिन्दू बनाएर भूकम्प जाने क्रम बढ्दै गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए । गएको कार्तिक २२ गते डोटी केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

Atrya hospital

पश्चिमी क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प नगएकाले पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । पश्चिमी क्षेत्रमा महाभूकम्प नगएको ५ सय बढी बर्ष भइसकेकाले महाभूकम्पको जोखिम कायमै रहेको उनले बताए । पश्चिमी क्षेत्रमा सन् १५०५ मा मुस्ताङ केन्द्रबिन्दु बनाएर ८ रेक्टर स्केलमाथिको भूकम्प गएको थियो । 

नेपालको पूर्वी क्षेत्रमा सन् १९१४ मा भूकम्प गएको थियो भने मध्य क्षेत्रमा २०७२ को भूकम्पलाई लिन सकिने प्रमुख तामाङले बताए । पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पीय जोखिम रहेको तामाङको भनाइ छ । 
पछिल्लो समय सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्र बिन्दु बनाएर भूकम्प गइरहेकाले केही शक्ति बाहिर भने आइरहेको उनले बताए । उनले भने ‘ठूलो भूकम्पको जोखिम कायमै छ । भूकम्प कतिखेर जान्छ भन्ने केही आँकलन गर्न सकिदैन् । त्यसैले यसबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नु आवश्यक हुन्छ ।’ 

भूकम्प जुनसुकै बेला पनि जान सक्ने भएकाले यसबाट बच्नका लागि सुरक्षित घरमा बस्नुपर्नेमा उनले जोड दिए । पुराना तथा जीर्ण भएका घरहरु सानोतिनो भूकम्पले समेत क्षति हुने भएकाले सुरक्षित घरमा मात्रै बस्न आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update