Sagun Khabar
बैतडीमा एकसातादेखि लेन्थवर्कर अनसनमै, माग अझै पूरा भएन् 

बैतडी –२१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै अनसनमा बसेका बैतडीका लेन्थवर्करहरुको अनसन जारी रहेको छ । अनसन बसेको एक हप्ता भईसक्दा समेत आफ्ना माग पूरा नभएकाले आफूहरुले अनसन नछोड्ने लेन्थवर्कर जयराम भुलले बताए । उनले भने ‘हाम्रा माग पूरा नहुँदा सम्म हामी अनसन छोड्दैनौं । हामी अनसनस्थलमै प्राणत्याग गर्न तयार छौं ।’

लामो समयदेखि पाटन –पञ्चेश्वर सडकमा काम गर्दै आएपनि आफूहरुले पारिश्रमिक नपाएकाले अनसन बसेको भुलले बताए । उनले भने ‘हामी सडकमा काम गर्ने मजदुरको रोजीरोटी खोस्ने प्रयास भईरहेको छ । त्यसैले हामी अनसनमा बसेका हौं ।’

Atrya hospital

असार १८ गतेदेखि अनसनमा १२ जना लेन्थवर्कर बसीरहेका भएपनि उनीहरुका माग भने पूरा हुन सकेका छैनन् । पाटन –पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । उनले भनिन् ‘अनसन बसेको यो अवधिमा म आँफै दुई पटक बेहोस भएर अस्पताल पुगिसकेकी छु । हाम्रा माग पूरा नहुँदा सम्म हामी अनसन छोड्दैनौं ।’

अनसन बसीरहेका बेला लेन्थवर्करहरुलाई माग पूरा गर्ने आश्वासन दिने भने कमी छैन् । प्रदेश सांसददेखि लिएर संघीय सांसदहरुले समेत माग पूरा गर्ने आश्वासन दिएको पन्तले बताइन् । उनले भनिन् ‘अब आश्वासनले मात्रै हामी मान्दैनौं । हाम्रो समस्या समाधान नहुँदा सम्म हामी अनसन छोड्दैनौं ।’

स्थानीय स्तरमा लेन्थवर्करका समस्या समाधानका लागि सहयोग समिति समेत गठन भएको छ । जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले पनि अनसनमा बसेका लेन्थवर्करहरुसंग वार्ता गरिसकेको छ । तर उनीहरुको समस्या समाधानका लागि खासै निकास निकाल्न नसकिएको भट्टले बताए । उनले भने ‘हामीले स्थानीय पालिकाहरुसंग पनि छलफल गरेका छौं । प्रदेश सरकारलाई अनसनमा बसेकाहरुको अवस्थाको बारेमा जानकारी गराईसकेका छौं ।’

यता पूर्वाधार विकास कार्यालयले भने पाटन –पञ्चेश्वर सडकमा लेन्थवर्कर नरहेको दाबी गर्दै आएको छ । अहिले सडक निर्माण कम्पनीसंग रहेकाले लेन्थवर्कर राख्न नमिल्ने कार्यालयको दाबी छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update