Sagun Khabar
भूकम्पका कारण बैतडीमा दुई जना घाइते, दर्जनौँ घर र विद्यालयका भवन चर्किए!

बैतडी- बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पले बैतडीमा पनि क्षति गरेको  छ । भूकम्पले जिल्लाको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवन चर्किएका स्थानीयहरुले  बताएका छन् ।

यस्तै भूकम्पले  बैतडीमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता योगेश खत्रीका अनुसार  बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बैतडीको डिलासैनी गाउँपालिका २ की १० वर्षिया निरा भण्डारी र सिगास गाउँपालिका वडा नं २ धौलाडी बस्ने कमला धामी घाइते भएका हुन्। निराको लटिनाथ आधारभूत विद्यालयमाथिबाट ढुङ्गा खस्दा खुट्टामा गम्भीर चोट लागेको उनले  बताए  ।

Atrya hospital

यस्तै  सिगास गाउँपालिका वडा नं २ धौलाडी बस्ने कमलाको  खरभागलामा खरकाटि रहेका बेला भूकम्प जाँदा  शिवलिङ माविबाट खसेको ढुङ्गा  लागेर टाउकोमा गम्भीर चोट लागेको सिगास गाउँपालिका वडा नं २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरिले बताए । घाइते धामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहको उनले बताए । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले  जनाएको  छ ।

  यस्तै भूकम्पले घर भत्किँदा बैतडीको सिगास गाउँपालिका–३,घकुराडी बस्ने रघुवीर साउदको घरमा क्षति पुगेको छ । साउद रोजगारीका लागि भारतमा छन् । घर भत्किएर आमा र दुई बालकको बिचल्ली भएको छ । भूकम्पले सिगास गास गाउँपालिकाको लेकलुपण माविको भवनमा क्षति पुगेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए ।

 स्थानीयहरुका अनुसार भूकम्पका कारण  बैतडीका अन्य ठाउँमा पनि विद्यालयका भवन चर्किएका  छन्   । भवन चर्किएको बिवरण भने  प्राप्त नभएको  जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update