Sagun Khabar
पहिरोका कारण बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध 
फोटो : सडकमा फसेको पहिरो पन्छ्याउँदै यात्रुहरु , तस्बिर : महेश बोहरा

बैतडी –बैतडीको पुर्चौडी हाट जोड्ने ढोल्यामोड हाट सडक अवरुद्ध भएको छ । बर्षाका कारण सडकका विभिन्न ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको पुर्चौडी नगरपालिका ८ मल्लादेहीका महेश बोहराले बताए । सो सडक ५÷६ ठाउँमा पहिरो खसेको उनले बताए । अरु ठाउँमा स–साना पहिरो भएपनि एक ठाउँमा ठूलो पहिरो खसेको उनले बताए । खामाहाले लेकमा ठूलो पहिरो खसेको बोहराले जानकारी दिए । ‘हामी पहिरो पन्छ्याउँदै अगाडि बढीरहेका छौं । जिपमा बिरामी र गर्भवती महिला भएकाले पनि जिप जसरी पनि चलाउनुपर्ने अवस्था छ ।’महेन्द्रनगर जान लागेका उनले भने, ‘दुई तीन ठाउँमा हामीले पहिरो पन्छ्यायौं । एक ठाउँमा ठूलो पहिरो खसेको छ । पन्छ्याउन समस्या भईरहेको छ ।’

पहिरोका कारण सडक अवरुद्ध भएपछि सवारी साधन बीचबाटोमै रोकिएका छन् । साना जिपहरु पहिरो पन्छ्याएर एक दुई ठाउँमा अगाडि बढेपनि ट्रक भने पहिरोका कारण एक ठाउँमा फसेको स्थानीय कर्ण बोहराले बताए ।

Atrya hospital

पुर्चौंडी क्षेत्र जोड्ने मुख्य सडकको रुपमा रहेको ढोल्यामोड हाट सडक अवरुद्ध भएपछि यात्रुहरुलाई असहज भएको छ । बिरामी बोकेर गएको जिप पनि पहिरोका कारण बाटोमै अड्किएको उनले बताए । 

बर्षातको समयमा बैतडीका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध हुने गरेका छन् । कच्ची सडकका ठाउँठाउँमा पहिरो खस्ने भएकाले सडक अवरुद्ध हुने गरेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १३:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update